चन्द्राैटा, १५ असोज ।

चाडपर्व नजिकिएकाे बेला माैसमी अनुगमनले व्यापारीलाई सास्ती भएकाे छ । कपिलवस्तुका विभिन्न स्थानका बजारमा पछिल्लो समय  हुने गरेकाे बजार अनुगमनले व्यापारीलाई सास्ती भएकाे व्यापारीकाे गुनासाे छ ।

 

बजार वर्षभरिमा एक/दुई पटक भन्दा बढी बजार अनुगमन हुने गरेकाे पाइएकाे छैन । सम्बन्धित निकायकाे फितलो बजार अनुगमनले आम उपभोक्ताकाे स्वास्थ्यमा खेलवाड गरिएको जस्तै छ । गैरजिम्मेवारी हुँदै वर्षभरि अनुगमन गर्दैनन् । यता व्यापारीहरुले माैकाकाे फाइदा उठाउँदै आम उपभोक्तालाई गुणस्तरहीन खाद्यान्न वस्तुलाई बिक्री वितरण गरिएको पाइन्छ ।

 

वर्षभरिमा मुख्य व्यापरिक क्षेत्रमा मात्र अनुगमन गरिएको हुन्छ । जब नेपाली आम जनताकाे घर, आगनमा चाडपर्वकाे राैनक बढ्न थाल्छ त्यति बेला मात्र अनुगमन हुने गरेकाे पाइन्छ । यसरी आम उपभोक्ताले गुणस्तरहीन खाद्यान्न प्रयाेग, महंगीकाे चरम चपेटामा पर्ने गरेका छन् । बजार अनुगमन फितलो भएकै कारण व्यापारीले कानुनी, नियम विपरीत बिक्री वितरण गरिरहेका हुन्छन् ।

 

अहिले चाडपर्वकाे मुखमै अचनाक बजार अनुगमनले व्यापारीहरु त्रसित भएका छन् । यतिबेला जिल्लामा भइरहेको बजार अनुगमनले व्यापारीलाई त्रसित बनाएको छ । साेमबार जिल्लाकाे मुख्य व्यापारिक केन्द्र कृष्णनगर बजार, बहादुगञ्ज र महाराजगञ्ज नगपालिकाका व्यापारी डराएर सटर नै बन्द गरेकाे पाइएकाे छ । व्यापारीले बजार अनुगमनकाे त्रासले पसल बन्द गरेका छन् । वर्षभरि अनुगमन नहुँदा अचानक आउने अनुगमन टाेलीले कारवाही गर्छे भन्ने डरले सटर बन्द गरेका हुन् ।

 

चाडपर्वको सिजन सुरु भएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सहितको टोलीले संयुक्त रूपमा बजार अनुगमन गरिरहेका छन् ।

 

अनुगमन टाेलीले होटेल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर, तेलको अवस्था लगायतका विषयमा अनुगमन गर्ने गर्छ । पाउरोटी उद्योग, आइस क्रिम उद्योग, मासु पसल, एग्रोभेटमा अनुगमनलाई तीव्रता दिएकाे छ । अनुगमन टोलीले पालिकासँग सहकार्य गरि होटेल तथा रेस्टुरेन्ट, किराना पसल, खाद्य उद्योग, हाट बजार, दुग्ध डेरी, माछा तथा मासु पसलको अनुगमन गर्ने गरेका हुन् ।म्याद गुज्रिएका खाद्य पदार्थ बेच्ने, मूल्य सूची टाँस नगर्ने, इजाजत नलिई व्यवसाय गर्नेलाई कारबाहीको दायरामा समेत ल्याउने गरेका छन् ।

 

जिल्ला प्रशासन कार्यालयका ना.सु. बाबुराम शर्मा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख रमेश दाहाल, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दका प्रमुख विष्णु प्रसाद खनाल, घरेलु तथा साना उद्योग कार्यालय तौलिहवाका प्रमुख प्रेम बहादुर गौतम, कृषि ज्ञान केन्द्र कार्यालय कपिवस्तुको प्रमुख भास्कर पौडेल लगायतकाे संयुक्त टाेलीले बजार अनुगमन गरिरहेकाे छ ।