घनश्याम भर । अखिल नेपाल महिला संघ विजयनगर गाउँ कमिटीको आयोजनामा तीज मिलन तथा शुभकामना आदानप्रदानकाे साथै दर खाने कार्यक्रम सम्पन्न भएकाे छ । विजयनगर अनेमा संघ, महिला सञ्जाल, आमा समुह, महिला समुह, युवा संघ, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्वयंसेविका लगायत महिला दिदिबहिनीहरु बीच तीजकाे अवसरमा तीज मिलन तथा शुभकामना आदानप्रदान सहित दर खाने कार्यक्रम गरिएको आयाेजकले जनाएको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले तीज पर्वको मौलिकतालाई आवश्यक रहेको बताएका छन् । उनले परापुर्वकालदेखि चलि आएको रीतिरिवाज, परम्परागतलाई संरक्षण गर्नुपर्ने बताए । समय परिस्थिति अनुसार तीज मनाउने प्रचलन पनि फेरिँदै गएको बताउँदै विदेशी संस्कृतिलाई अँगाल्न नहुने केसीकाे भनाई छ ।
यस्तै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले आफ्नो माैलिक संस्कृतिमा रमाउनुपर्ने बताए । उनले आफ्नो माैलिकता झल्किने भेषभूषासहित परम्परागत रुपमै चाडपर्व मनाउनुपर्नेमा जाेड दिए । अध्यक्ष थापाले पछिल्लो समय तीज लगायतका चाडपर्व भड्किलो हुँदै गएकाे भन्दै अनावश्यक रुपमा खर्च नबढाई एकआपसमा शाैहार्दपूर्ण वातावरणमा पर्व अनुरोध समेत गरे ।
यसैगरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले तीजले महिलाहरुकाे एकआपसमा सुख दुख साट्ने एउटा महत्त्वपूर्ण अवसरसमेत दिएकाे बताइन् । उनले यसरी वर्षको एकपल्ट सबै चेलीबेटीहरुसँग मनोरन्जन प्रदान गर्ने गरेकाे बताइन् ।
कार्यक्रममा अखिल नेपाल महिला संघ विजयनगर गाउँ कमिटीकी अध्यक्ष गीता मिश्रले हरितालिका तीजले एकआपसमा एकता, सद्भाव र समाजिक मेलमिलाप कायम गर्ने बताइन् ।