चन्द्रौटा, २८ असार ।

कृषि उत्पादन वृद्धि गर्न कपिलवस्तुको शिवराज नगरपालिकाले किसानहरूलाई कृषि सामाग्री वितरण गरेको छ । नगरभित्र रहेका ३६ जना व्यवसायीक किसानहरूलाई आधुनिक कृषि सामाग्री वितरण गरिएको हो । बिहीबार कृषि विकास शाखाले ब्रासकटर ४ थान,मिनिटिलर २६ थान र पावर टिलर ६ थान वितरण गरेको हो ।

आधुनिक प्रविधिको प्रयोगले किसानहरूलाई कृषि पेसा गर्न सहज हुने र उत्पादन पनि बढ्ने भएकोले सामाग्री वितरण गरिएको नगरप्रमुख अजय थापाले बताउनुभयो । थापाले किसानले उत्पादन बढाएमा नगर आत्मनिर्भर हुन सक्ने भएकोले कृषिलाई प्राथमिकता दिएको बताउनुभयो ।

कृषि क्षेत्र मल विउविजन सिचाई लगायत समस्या प्रति आफू जानकार रहेको भन्दै समाधानको लागि निरन्तर लागि परेको बताउनुभयो । सिचाई सुविधाको लागि प्रदेश र केन्द्र सरकार सँग माग गरिएको थापाले बताउनुभयो । जवाई सिचाइ योजनाको काम अब अघि बढ्ने भन्दै शिवराजको धेरै खेतीयोग्य जमिनलाई सिचाई व्यवस्था हुने थापाले बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख शिवकुमारी थारुले कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताउनुभयो । नगरले वितरण गरेको उक्त सामाग्री प्रयोगबाट कृषि उत्पादनमा बढ्ने अपेक्षा गर्नुभयो । ‘प्रत्येक वर्ष कृषिमा प्रयोग हुने सामाग्री वितरण गरेका छौ, थारुले भन्नुभयो, ‘कतिपयले कृषि सामाग्रीहरु घर थन्क्याउने गरेको पाइयो त्यस्तालाई प्रदान गरेका सामाग्री फिर्ता गराएका छौ, ।’

कृषकको ५० प्रतिशत र नगरको ५० प्रतिशत लगानीमा उक्त सामाग्री वितरण गरिएको कृषि विकास शाखाका प्रमुख तारा चन्द चौधरीले बताउनुभयो । किसानहरूलाई झाडी सफा गर्न,खेत जोत्नको लागि सहज होस भन्ने उद्देश्यले उक्त कार्यक्रम राखिएको चौधरीले बताउनुभयो । कृषि विकास समितिका संयोजक नेत्र बेल्वासेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कृषि प्राविधिक केशव भुसालले गर्नुभएको थियो ।