गुल्मी :  रेसुंगा नगरपालिकाले शनिबार आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा म्याद सकिएको औषधि वितरण गरेको पाइएको छ।

शनिबार बिहान धुमधामका साथ उद्घाटन गरिएको स्वास्थ्य शिविरमा यसरी म्याद गएको औषधि वितरण गरेर सोझासाझा जनताको स्वास्थ्यमाथि गम्भीर खेलवाड  भएको छ।

नि:शुल्क स्वास्थ्य शिविरको नारा लगाएर  म्याद गएको औषधि वितरण गर्दै स्वास्थ्यमा सुधार आउला भन्दा झनै रोग थप्ने काम शिविरले गरेको पुष्टि गरेको छ।

शिविरमा जनवरी  २०२३ मा म्याद गएको एमिजोए १० नामक औषधि वितरण गरेको पाइएको हो।

यता, नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले स्वास्थ्य शिविरका नाममा जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने अधिकार कसैलाई नभएको बताएका छन्। नियमन गर्ने निकायले पनि यस बारेमा बुझ्नुपर्ने  पाण्डेको भनाइ छ।

यता, गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले यसको जिम्मेवारी पूर्ण रुपमा आयोजक संस्था हुनुपर्ने बताएका छन्।  नगरपालिकाले आवश्यक कारबाहीका लागि सहयोग मागेमा आफू तयार रहेको भन्दै स्वास्थ्य जस्तो गम्भीर विषयमा खेलवाड गर्न नहुने तर्क गरेका छन्।

रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले आफूले औषधि डोनेसन गर्ने र प्राविधिक सहयोग गर्नेसँग स्पष्टीकरण मागेको भन्दै आवश्यक प्रक्रिया चाल्ने बताएका छन्।

नगरपालिकको आयोजनामा प्राविधिक र औषधिको सहयोग भने चौराह हस्पिटल प्रालिले गरेको थियो। स्वास्थ्य शिविरबाट ६८९ जनाले सेवा लिएका थिए।