कपिलवस्तु, २६ पुस ।

शिवराज नगरपालिका नगरप्रमुख अजय थापाले सामुदायिक विद्यालयप्रति जनविश्वास बढाउन शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ ।

जिल्लाको शिवराज ५, स्थित राष्ट्रिय मावि चन्द्रौटाद्वारा विद्यालयको गुणस्तर सुधार अनुदान (EVENT) परियोजना अन्तर्गत सम्पन्न कार्यक्रमहरूको सार्वजनिक सुनुवाइमा उहाँले यस्तो उदघोष गर्नुभएको हो ।

उहाँले जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाएमा मात्र सरकारी विद्यालयप्रति सबैको चासो बढ्ने विश्वास ब्यक्त गर्नुभयो । “शैक्षिक गुणस्तर सुधार गर्न शिक्षामा लगानी गर्नुपर्छ”- उहाँले भन्नुभयो । सबैभन्दा विभेद र साम्प्रदायिक शिक्षामा रहेको औल्याउँदै सबैलाई समान शिक्षाको पहुँचमा पुर्‍याउन राज्यले शिक्षामा लगानी गर्नुपर्ने जिकिर गर्नुभयो । साथै मेयर थापाले शिक्षामा गुणस्तर सुधार ल्याउन नगरले अहिले विशेष पहलमा जुटेको उदघोष गर्नुभयो ।

शिवराज नगरपालिका पूर्व नगरप्रमुख नेत्रराज अधिकारीले गरेका कामको समिक्षा गर्दै कमीकमजोरीलाई सुधार गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले शैक्षिक सुधारमा शिक्षकले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

चेम्बर अफ कमर्श कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले खरीद प्रकृया, लेखाजोखालाई चुस्त दुरुष्ट र पारदर्शी बनाउनु पर्नेमा जोड दिनुभयो । पछिल्लो समय उद्योगधन्दा धरासयी हुँदै गएको प्रति चिन्ता ब्यक्त गर्दै विद्यालयको समुन्नत विकासमा सबैले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति मधुसुदन पोख्रेल, राप्रपाका नगर अध्यक्ष चित्र बहादुर के.सी., जनमत पार्टीका नगर अध्यक्ष बालजी प्रसाद यादव, दोस्रो सेमेस्टारमा अध्ययनरत विद्यार्थी अरमान खान लगायतले समेत धारणा राख्नुभएको थियो ।

विद्यालय ब्य्वस्थापन समिति अध्यक्ष हुमकान्त खनालको अध्यक्षतामा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बलदेव लामिछानेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमका बीच दोस्रो सेमेस्टारमा उत्तीर्ण विद्यार्थीलाई टीका र खादाबाट सम्मान गरिएको थियो ।