धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका–४ बेलटारमा सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

संखुवासभाको चैनपुरबाट सुनसरीको इटहरी जाँदै गरेको को १ ज २२७५ नम्बरको बोलेरो अनियन्त्रित भइ दुर्घटना हुँदा ११ जना घाइते भएका हुन्। बोलेरो सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका ७ जनाको सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र ४ जनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको धनकुटा प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए।

दुर्घटना भएको खबर पाउने बित्तिकै प्रहरी चौकी चानुवा र प्रहरी चौकी लेगुवाबाट खटिएको प्रहरीले तत्काल उद्धार गरि उपचारका लागि पठाएको उनले बताए। बोलेरोचालक मोरङको बेलबारी नगरपालिका–२ का प्रविण कोइराला प्रहरी चौकी लेगुवाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।