काठमाडौं : चिकित्सकहरूको साझा संस्था नेपाल चिकित्सक संघको नयाँ नेतृत्वको लागि आगामी माघमा निर्वाचन हुँदैछ।

तर पुस ४ गते नै मनोनयन दर्ता गराउनुपर्ने भएकाले डाक्टरहरु नेतृत्व लिन प्यानलसहित चुनावी तयारीमा उत्रँदैछन्।

निर्वाचन कार्यतालिका अनुसार माघ ६ र ७ गते उपत्यका बाहिर र माघ १९, २० र २१ गते उपत्यकाभित्र मतदान हुनेछ।

संघको केन्द्रीय कार्यकारिणी समितिका लागि एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ७ उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्यक्ष, ६ सदस्य गरी १९ जना र संघको परिषद् सदस्य ६० जनाको लागि निर्वाचन हुनेछ।

चुनावका लागि कांग्रेस निकट डाक्टरहरू प्रजातान्त्रिक प्यानल बनाउँदैछन्। उम्मेदवार टुङ्गो लगाउन वर्तमान अध्यक्ष डा. लोचन कार्कीको नेतृत्वमा डा केदारनरसिंह केसी, डा अन्जनी कुमार झा, डा मुक्तिराम श्रेष्ठ र डा आनन्द श्रेष्ठ रहेको सर्च कमिटी बनाइएको छ।

आकांक्षाी धेरै भएपछि उम्मेदवार टुङ्गो लगाउन सर्च कमिटी बनाइएको हो।

कमिटीले ३ पुससम्म उम्मेदवारको टुङ्गो लगाउने र निर्वाचन प्रकृयाको तालिका अनुसार पुस ४ गते मनोनयन दर्ता हुने बताइएको छ।

प्रजातान्त्रिक प्यानलबाट अध्यक्षका लागि पूर्वउपाध्यक्ष डा. भुपेन्द्रकुमार बस्नेत, वर्तमान उपध्यक्ष डा. अनिल कार्की, वर्तमान महासचिव बद्री रिजालको दावी रहेको छ। त्यसैगरी अध्यक्ष पदमा डा रूद्र मरासिनीले पनि आकांक्षा देखाएका छन्।

प्रजातान्त्रिक प्यानलबाटै महासचिव पदका लागि डा. प्रकाश बुढाथोकी, डा. सञ्जीव तिवारी, डा. विश्व दवाडी र डा. किशोर देवले दावी गरेका छन्।

यस्तै प्रजातान्त्रिक प्यानलबाटै बागमती प्रदेशको उपाध्यक्षमा डा. मनोर दिन सैयद, प्रदेश २ बाट डा निरज सिंह, गण्डकी प्रदेशबाट डा राजन शर्मा र सुदुरपश्चिम प्रदेशबाट डा प्रदिप मिश्रले दाबी गरेका छन्।

सहसचिव पदको लागि डा प्रमोद जोशी र डा विपेश आचार्यले आकांक्षा देखाएका छन्।

नेकपा एमाले निटक प्रगतिशील प्यानलबाट अध्यक्षको लागि डा.पुष्पमणि खराल, डा. सन्तोष पौडेल, र डा जागेश्वर गौतमको समेत चर्चा छ। यस्तै महासचिवमा डा. दिपेन्द्र पाण्डेको नाम चर्चामा छ।