काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। ​

एलिजाबेथ द्वितीयाले आफुलाई काम, सम्मान र सेवाले परिचित गराएको देउवाको भनाइ छ।

‘रानीका सन १९६१ र सन १९८६ मा भएका दुई राजकीय भ्रमणलाई नेपालमा सादरपूर्वक स्मरण गरिन्छ,’ देउवाले एलिजाबेथका नेपाल भ्रमणको चर्चा गर्दै भनेका छन्।

रानी एलिजाबेथको निधनले नेपाल र नेपाली जनताले आफुलाई माया गर्ने एक व्यक्तित्व गुमाएको देउवाले उल्लेख गरेका हुन्।​

एलिजाबेथ तत्कालीन राजा महेन्द्रको निम्तोमा सन् १९६१ मा र राजा वीरेन्द्रको राज्याभिषेकमा सन १९८६ मा नेपालको राजकीय भ्रमणमा आएकी थिइन्।

९६ वर्षीया उनको बिहिबार स्कटल्याण्डको वालमोरलमा निधन भएको थियो। उनको शव आज लण्डन ल्याइने बकिङ्घम दरबारले जनाएको छ। उनको शव दश दिनसम्म श्रद्धाञ्जलीका लागि राखिने र अन्त्येष्टी गरिने छ।