५ दिने नेपाल भ्रमण सकेर भारतीय सेनाध्यक्ष पाण्डे स्वदेश फिर्ता
काठमाण्डाै – भारतका स्थल सेनाध्यक्ष जनरल मनाेज पाण्डे नेपालकाे पाँच दिने भ्रमण सकेर स्वदेश फिर्ता हुनुभएकाे छ । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा आउनुभएका पाण्डे नेपालको पाँच दिने औपचारिक भ्रमण सम्पन्न गरी आज बिहीवार स्वदेश फिर्ता हुनुभएको छ ।
उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गर्नुभएको छ । भ्रमणका क्रममा नेपाल र भारतका सेनाध्यक्षहरूलाई एकअर्का देशको मानार्थ महारथीको दर्जाबाट सम्मानित गर्ने परम्परालाई निरन्तरता दिन सोमवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष पाण्डेलाई त्याे सम्मान प्रदान गर्नुभएको थियो ।
भ्रमणकै क्रममा जङ्गी अड्डामा प्रधानसेनापति शर्मा र भारतीय सेनाध्यक्षबीच औपचारिक भेटवार्ता भएको थियो । भेटवार्तामा दुई देशको आपसी सुरक्षा चासोका विषयमा छलफल भएको थियो ।
भारतीय स्थल सेनाध्यक्ष पाण्डेले भ्रमणका क्रममा मङ्गलवार रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभएको थियो । उहाँले शिवपुरीमा रहेकाे सैनिक कमान्ड तथा स्टाफ कलेज र पोखरामा रहेकाे नेपाली सेनाको मध्य कमान्ड हेडक्वार्टरको समेत भ्रमण गर्नुभएको थियो । उहाँले भारतबाट सहुलियतरूपमा आएको २२ करोड ३८ लाख रुपैयाँ बराबरको सैन्य सामग्रीसमेत हस्तान्तरण गर्नुभएको थियो ।
भारतीय सेनाध्यक्षकाे भ्रमणले दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















