रौतहट : रौतहटमा सवारी दुर्घटना वर्षेनी वृद्धि भइरहेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार आर्थिक वर्ष २०७८/७९ मा रौतहटमा ७ सय १३ सवारी साधन दुर्घटना भएको हो।

जसमा ७२ जनाको मृत्यु भएको छ भने १ सय ४३ गम्भीर तथा १ हजार २८ सामान्य घाइते भएका छन्। आर्थिक वर्ष २०७७/७८ मा ५ सय ६४ सवारी साधन दुर्घटना हुँदा ४६ जनाको मृत्यु भएको थियाे भने १ सय २७ गम्भीर तथा ७ हजार १३ सामान्य घाइते भएका थिए।

दुर्घटना हुनेमा सबैभन्दा बढी मोटरसाइकल, जिप, ट्याक्टर, ट्रक तथा बस रहेका छन्। बढ्दो सवारी चाप, तीव्र गति, यान्त्रिक गडबडी, साँघुरो तथा भत्किएको सडक, ट्राफिक नियमको पालना नगर्ने बानीले गर्दा सवारी दुर्घटना बढिरहेको चालकहरूको अनुभव छ।

रौतहटमा पूर्व पश्चिम राजमार्ग, वीरेन्द्र राजमार्ग गरेर दुईवटा मुख्य राजमार्ग रहेका छन्। राजमार्ग छेउछाउका स्थानहरु शहरीकरणले गर्दा बाक्लो बस्ती अनि जनघनत्व रहेको छ।

तर बढ्दो जनघनत्व र सवारी चापलाई व्यवस्थापन गर्ने गरी पार्किङ व्यवस्था कतैपनि गरिएको छैन। जिल्लाभरी नै सवारी साधनहरु सडकमै पार्किङ गरिन्छ भने सडकमै हाटबजार लाग्छन्। जसले सडक साँघुरिएर पैदल यात्रु सडकबाटै हिड्नुपर्ने वाध्यता गर्दा सवारीसाधनले ठक्कर दिएर हुने दुर्घटना पनि बढ्दो क्रममा रहेको छ।

त्यसैगरी बसपार्क नहुँदा साना तथा ठूला सवारी साधनहरु सडकको दायाँबायाँ राखेर यात्रु चढाउने ओराल्ने गर्दा दुर्घटनाको जोखिम उच्च रहेको छ। यता स्थानीय सरकार प्रमुख भने आफूहरु पार्किङलाई व्यवस्थित गर्न बसपार्क बनाउन लागिरहेको बताउँछन्।

जिल्लाको क्षेत्रफल, सडकको लम्बाइ, सवारी चाप, राजमार्ग र कच्ची सडकको बढ्दो संख्याको आधारमा भने ट्राफिक प्रहरीको दरबन्दी कम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको भनाइ छ।

१८ वटा पालिका रहेको रौतहट जिल्ला ३८ जना ट्राफिक प्रहरीले सिंगो हेर्नुपर्ने वाध्यता रहेको छ। सीमित श्रोत र साधनका बाबजुद पनि ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा आफूहरुले विभिन्न कार्य गर्दै आइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको भनाइ छ।

बढ्दो सवारी दुर्घटना न्यूनीकरण ट्राफिक प्रहरीको मात्र नभई सरोकारवाला सबै एक भएर लाग्नुपर्छ।

सडक तथा पार्किङको व्यवस्थापन एवम ट्राफिक नियमको इमान्दारीपूर्वक पालना गरे दुर्घटना न्यूनीकरण हुने विश्वास ट्राफिक प्रहरीको छ।