धनगढी : सामाजिक सञ्जालमा अहिले एउटा भिडिओ भाइरल छ। बझाङको जयपृथ्वी नगरपालिकाले जनप्रतिनिधिका लागि भनेर वितरण गरेको मोटरसाइकल दुरुपयोगको भिडिओ हो।

सरकारी नम्बर (से १ ब ११७१) प्लेटको मोटरसाइकल सिकारुले कुदाइरहेको भिडिओमा देखिन्छ। सोही भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। भाइरल भिडिओमा देखिएको मोटरसाइकल भने जयपृथ्वी नगरपालिका अन्तर्गत वडा- १ मा कार्यरत सचिव अजयबहादुर सिंहको रहेको खुलेको छ।

उनलाई सरकारी सेवा प्रवाहमा प्रयोग गर्न भन्दै नगरपालिकाले मोटरसाइकल दिएको थियो। उक्त मोटरसाइकल भने जिल्ला सदरमुकाम चैनपुरमा उनका छोरा समन्द सिंहले अरूलाई सिक्न र सिकाउनका लागि प्रयोग भएको भेटिएको छ।

भिडिओमा पनि मोटरसाइकल चलाउन सिक्न, सिकाउन प्रयोग भएको देखिन्छ। बाँझो खेतमा उक्त मोटरसाइकल चलाउने दुई तीनजना मध्ये एकजना वडा सचिवका छोरा समन्द हुन्। उनैले उक्त मोटरसाइकल त्यहाँ ल्याएका थिए।

सवारीचालक अनुमतिपत्र समेत नभएका उनले दैनिक बुवालाई दिइएको मोटरसाइकल प्रयोग गर्दै आएको स्थानीयले बताएका छन्। जयपृथ्वी नगरपालिका- १ का वडाध्यक्ष डम्बरबहादुर सिंहले भने आफूलाई यस विषयमा कुनै जानकारी नभएको बताएका छन्।

यस्तै जयपृथ्वी नगरपालिकाका सूचना अधिकारी लालबहादुर थापाले सरकारी सवारीसाधन दुरुपयोग गर्न नपाइने बताउँदै कसैले गरेको पाइएमा नगरपालिकाले कारबाही गर्ने बताए। नगरपालिकाले वडाध्यक्ष र वडाका कर्मचारीहरूले दिने सेवा प्रवाहमा सहजता होस् भनी जनप्रतिनिधि तथा कर्मचारीलाई सवारीसाधन वितरण गरेको थियो।

तर नगरपालिकाले वितरण गरेका सवारीसाधन वितरण गरेको समयदेखि नै दुरुपयोग हुँदै आएका छन्। वितरित सवारीसाधनलाई सवारीचालक अनुमतिपत्र नै नभएका व्यक्तिहरूले जथाभावी चलाउने, व्यक्तिगत काममा प्रयोग गर्ने र आसेपासेलाई प्रयोग गर्न दिने गरेको समेत पाइएको छ।