प्रदीप गिरिलाई भेट्न मेडिसिटी अस्पताल पुगिन् राष्ट्रपति
काठमाडौं : मेडिसिटी अस्पताल उपचार गराइरहेका कांग्रेस नेता प्रदीप गिरिलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगेकी छन्।
नेता गिरिको स्वास्थ्य अवस्था क्रिटिकल भएपछि राष्ट्रपति भण्डारी उनलाई भेट्न शनिबार अस्पताल पुगेकी हुन्। बिहान ११ बजे अस्पताल पुगेकी राष्ट्रपति भण्डारीलाई अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा उपेन्द्र महतोले नेता गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
राष्ट्रपति भण्डारी करिब एक घण्टा अस्पतालमा बसेकी थिइन्।
शनिबार विहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि नेता गिरिलाई भेट्न अस्पताल पुगेका थिए। यस्तै, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि अस्पताल पुगेर गिरीको पछिल्लो स्वास्थ्यस्थिति बारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
भारतमा लामो समय उपचार गरेपछि गिरिलाई करिब तीन सातादेखि मेडिसिटीमा राखेर उपचार गरिँदै आएको छ। भारतमा गिरिको घाँटीको क्यान्सरको उपचार गरिएको थियो।
यस्तै, गत बिहिबार साँझ सभामुख अग्निप्रसाद सापकोटा पनि गिरिलाई भेट्न अस्पताल पुगेका थिए।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















