बञ्चरेडाँडामा फोहर फाल्ने विषयमा फेरि अन्योल, स्थानीय बासिन्दाको अवरोध कायमै
काठमाण्डौ – काठमाण्डौ उपत्यकाको फोहर बञ्चरेडाँडामा फाल्ने क्रममा भइरहेको अवरोध हटाउन सहमति भए पनि अन्योल भएको छ ।
काठमाण्डौ, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित पालिकाका पदाधिकारीको हिजोको बैठकले अवरोध हटाएर फोहर फाल्ने सहमति गरेको थियो । सहमति अनुसार काठमाण्डौ महानगरपालिकाले आज बिहानैदेखि फोहरका गाडी बञ्चरेडाँडा पठाउने तयारी गरेको छ ।
महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले सहमति अनुसार फोहरका गाडी पठाउने बताउनुभयो । उहाँका अनुसार आज पनि सुरक्षाकर्मी भने खटिनेछन् ।
महानगरपालिकाले सहमति अनुसार फोहर पठाउने तयारी गरिरहे पनि ल्यान्टफिल्ड साइटमा पर्ने धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर १ का बासिन्दाको अवरोध कायमै रहेको वडा अध्यक्ष मानबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो विरोध प्रदर्शनका क्रममा पक्राउ परेका एक जनाको रिहाइ र अस्ति घाइते भएका एक जनाको उपचारको खर्च सरकारले बेहोर्नु पर्ने माग गर्दै स्थानीय बासिन्दाले अवरोध कायमै राखेका छन् । यस विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा आज छलफल हुने वडा अध्यक्ष तामाङले बताउनुभयो ।
हिजो, फोहर बोकेर जाने गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, जथाभाबी फोहर फाल्न नपाउने, बञ्चरेडाँडामा फोहर थुपार्ने ठाउँमा गन्ध नआउने औषधि छर्किनुपर्ने र गएको जेठ २६ गते भएको सहमति कार्यान्वयन गर्दै जाने सहमति भएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























