बिरेन्द्र कनोडियालाई जिताउन एमालेको मास्टर प्लान, अधिकारी बने चुनावी कमान्डर
कपिलवस्तु– नेकपा (एमाले) कपिलवस्तु क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बिरेन्द्र कनोडियालाई जिताउने लक्ष्यसहित पार्टीले चुनावी रणनीति तीव्र बनाएको छ। सोहीअनुसार एमालेले नेत्रराज अधिकारीलाई चुनावी कमान्डरको जिम्मेवारी दिएको छ।
मंगलबार बसेको एमाले कपिलवस्तु जिल्ला कमिटीको बैठकले नेत्रराज अधिकारीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो। समितिको उपसंयोजकमा पार्टीका जिल्ला सचिव चन्द्रबहादुर गहतराज चयन भएका छन्।
यस्तै, निर्वाचन परिचालन समितिको सचिवमा एमाले जिल्ला सदस्य जगत पौडेल, उपसचिवमा एमाले शिवराज नगर कमिटी अध्यक्ष महादेव पोखरेल तथा सदस्यमा रामप्रघट कोरिलालाई जिम्मेवारी दिइएको छ। साथै, कपिलवस्तु क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारका रूपमा नाम सिफारिस भएका शिवराज नगरपालिकाका संस्थापक मेयर तथा एमाले प्रदेश सदस्यलाई पनि जिल्ला कमिटीले चुनावी कमान्डरको जिम्मेवारी दिएको छ।
एमालेले कपिलवस्तु क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका लागि बिरेन्द्र कनोडियालाई उम्मेदवार बनाएको छ। टिकटको आकाङ्क्षी रहे पनि उम्मेदवार नबनेका नेत्रराज अधिकारीले पार्टीको निर्णयलाई पूर्ण रूपमा सम्मान गर्दै चुनावी कमान्डरको भूमिकामा रहेर पार्टी उम्मेदवारलाई जिताउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसैगरी, बैठकले एमाले केन्द्रीय सदस्य शिवकुमारी चौधरीको नेतृत्वमा अनुगमन तथा मूल्याङ्कन समिति गठन गर्ने निर्णयसमेत गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























