कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर ३ मा यसपटकको चुनावी माहोल परम्परागत नारा र दलगत प्रतिबद्धताभन्दा फरक देखिएको छ। ‘Right to Recall’ अर्थात् जनप्रतिनिधिलाई बीचमै फिर्ता बोलाउने अधिकारलाई प्रमुख चुनावी मुद्दा बनाएर युवा पत्रकार चिन्ता परियार स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्।

लामो समयदेखि पत्रकारितामार्फत सुशासन, पारदर्शिता, जवाफदेहिता र जनअधिकारका विषय उठाउँदै आएका परियारले “जनताले चुनेपछि पाँच वर्षसम्म मौन बस्नुपर्ने बाध्यता अन्त्य हुनुपर्छ” भन्ने मान्यतालाई आफ्नो राजनीतिक अभियानको केन्द्रमा राखेका छन्।

परियार भन्छन्
“मतदान भनेको जनताको अन्तिम अधिकार होइन, यो त सुरुवात मात्र हो। जनताको भरोसा तोड्ने जनप्रतिनिधिलाई बीचमै फिर्ता बोलाउने अधिकार संविधान र कानुनले सुनिश्चित गर्नुपर्छ।”
उनका अनुसार Right to Recall को अवधारणाले जनप्रतिनिधिलाई ‘शासक’ होइन ‘सेवक’ बनाउनेछ र उनीहरूलाई सधैं जनताप्रति उत्तरदायी रहन बाध्य पार्नेछ। विकास बजेटको दुरुपयोग, जनआवाजको बेवास्ता र चुनावपछि देखिने गैरजिम्मेवार प्रवृत्ति रोक्न यो अधिकार अत्यावश्यक रहेको उनको दाबी छ।

यही कारण स्थानीय युवाहरू, नागरिक समाज र सचेत मतदाताबीच परियारको मुद्दाले उल्लेख्य चासो पाएको छ। एक स्थानीय मतदाताले प्रतिक्रिया दिँदै भने,
“हाम्रो क्षेत्रमा पहिलो पटक जनतालाई प्रत्यक्ष रूपमा शक्तिशाली बनाउने मुद्दा खुलेर उठाइएको छ।”
पेसाले पत्रकार रहेका परियारले सूचनाको पहुँच, सत्य र पारदर्शिताको पक्षमा उभिँदै आएको आफ्नो अनुभवलाई राजनीतिक यात्रामा उपयोग गर्ने बताएका छन्। उनको चुनावी अभियानमा महँगा प्रचार सामग्रीभन्दा घरदैलो संवाद, खुला बहस र सामाजिक सञ्जालमार्फत मुद्दामुखी प्रचारलाई प्राथमिकता दिइएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार परियारको उम्मेदवारीले कपिलवस्तु–३ मा‘नेतामुखी राजनीति कि जनमुखी अधिकार?’ भन्ने बहसलाई चुनावको केन्द्रमा ल्याएको छ।
परियार स्वयं भने आफ्नो अभियानलाई सिट जित्ने सीमामा मात्र नबाँधिने स्पष्ट पार्छन्।

उनी भन्छन्“यदि म जितें भने मात्र होइन, जित्न नसके पनि Right to Recall राष्ट्रिय बहस बन्नुपर्छ। यही नै मेरो वास्तविक जित हुनेछ।”