हिजो जेठ २१ गते बुधबार चन्द्रौटा हाटबजारबाट रा१ ह ६८३४ नम्बरको अटोमा यात्रा गर्दा छुटेको नगद सहितको कालो झोला आज बिहान सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ। अटोमा झोला छुटेको सूचना बिहानैदेखि विभिन्न माध्यमबाट प्रवाह गरिएको थियो।

सूचना प्रसारण भएको केही समयमै शिवराज-५ प्रगतिटोल निवासी मीना सेन ओलीको झोला हराएको भन्ने प्रमाणित भएपछि उहाँसँग सोधपुछ गरिएको थियो। सोधपुछका क्रममा झोलामा रहेको नगद र अन्य सामानको विवरण मिलेपछि, हराएको झोला भेट्टाउने शिवराज-०५ बगैंचाटोल निवासी कुलचन्द्र खनाल ज्यूले  (खनाल दाई) मीना सेन ओलीलाई झोला हस्तान्तरण गर्नुभएको हो।

यस मानवीय कार्यका लागि कुलचन्द्र खनाल ज्यू (खनाल दाई) लाई हार्दिक धन्यवाद व्यक्त गरिएको छ। उहाँको इमानदारी र असल नियतले गर्दा हराएको सामान धनीसम्म पुग्न सकेको छ, जसले समाजमा असल नागरिकको भूमिकालाई उजागर गरेको छ।

यस अवसरमा कुलचन्द्र खनालले सबैलाई एक महत्त्वपूर्ण आग्रह गर्नुभएको छ। उहाँले भन्नुभयो, “यदि कतै कसैको सामान बाटोमा वा सार्वजनिक स्थानमा भेट्टाउनुभयो भने, कृपया सम्बन्धित मानिसलाई बुझाउन ढिला नगर्नुहोला। कसैको केही महत्त्वपूर्ण सामान हराउँदा उनीहरूलाई मानसिक रूपमा ठूलो तनाव र चिन्ता हुन सक्छ। त्यसैले, सहयोगी बनी असल व्यक्तिको पहिचान दिऔँ र हाम्रो समाजलाई थप इमानदार र जिम्मेवार बनाऔँ।” उहाँको यो प्रेरणादायी सन्देशले समाजमा इमानदारी र मानवीयताको भावनालाई थप बल पुर्‍याउने विश्वास गरिएको छ।