दिपक खड्का

शिवराज नगरपालिकाको आर्थिक सहयोग तथा दियालो नेपालको आयोजनामा दलित महिलाहरूका लागि नेपाली राष्ट्रिय पोशाक-दौरा सुरुवाल, चौबन्दी चोलो र ढाका टोपी-सिलाई तथा कटाई तालिम सञ्चालन गरिएको छ।

शिवराज नगरपालिका निवासी सिता विकले यसअघि सामान्य सीप मात्र सिकेको तर नगरपालिकाले सञ्चालन गरेको उन्नत स्तरको यो तालिमले आफूलाई सिप सिखेर थप आय आर्जनमा सहयोग पुग्ने बताउनु भयो।

सामाजिक अभियन्ता मिना परियारले नगरपालिकाद्वारा दलित समुदायका महिलाहरूका लागि सञ्चालित सीप विकास तालिम अत्यन्त उपयोगी रहेको बताउनु भयो।

तालिममा सहभागी अन्य महिलाहरूले पनि यस तालिमबाट आफूहरूको आय आर्जनमा थप वृद्धि हुने विश्वास व्यक्त गरे । उनीहरूले दुई महिने तालिमबाट नेपाली राष्ट्रिय पोशाक सिलाई तथा कटाईसम्बन्धी ज्ञान हासिल गरिरहेको जानकारी दिए।

तालिमको अवलोकन गर्न पुगेका शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले नगरपालिका भित्र रहेका दलित तथा विपन्न महिलाहरूलाई लक्षित गरी यस्ता तालिमहरू आगामी दिनमा पनि सञ्चालन गरिने बताउनु भयो। साथै, नगर प्रमुख थापाले नयाँ आर्थिक वर्षका लागि “स्टार्टअप एन्ड बिजनेस प्रमोशन” कार्यक्रमका लागि थप बजेट विनियोजन गरिने पनि जानकारी दिनु भयो।