चन्द्रौटामा राहदानी सेवा सुरु, स्थानीयवासी लाभान्वित
कपिलवस्तुको चन्द्रौटास्थित इलाका प्रशासन कार्यालयबाट औपचारिक रूपमा राहदानी सेवा सुरु गरिएको छ। बुधबारदेखि सुरु भएको सेवाको उद्घाटन शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापा र प्रमुख जिल्ला अधिकारी (सिडिओ) दिलकुमार तामाङले संयुक्त रूपमा गरेका हुन्।
२०५४ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट यसअघिसम्म राहदानी सेवा नहुँदा स्थानीयवासीलाई तौलिहवा पुग्नुपर्ने बाध्यता थियो। अब शिवराज, विजयनगर र कृष्णनगर क्षेत्रका नागरिकहरू चन्द्रौटाबाटै राहदानी सेवा लिन सक्ने भएका छन्।
नगरप्रमुख थापाले सेवा सुरु भएसँगै समय र खर्चमा बचत हुने भन्दै नागरिकहरूले सजिलो र सहज सेवा पाउने विश्वास व्यक्त गरे। प्रमुख जिल्ला अधिकारी तामाङले यसअघि नागरिकता र राष्ट्रिय परिचयपत्र वितरणमा सीमित कार्यालयले अब राहदानी सेवा पनि दिने जानकारी दिए।
कार्यालयका प्रमुख घनश्याम न्यौपानेले सेवा प्रभावकारी र नागरिकमैत्री बनाउने प्रतिबद्धता जनाएका छन्। सेवा सुरु भएपछि पहिलोपटक राहदानी आवेदन दिएका स्थानीय विजय सापकोटाले खुसी व्यक्त गरे।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























