कपिलवस्तु – रहटावल सामुदायिक वन उपभोक्ता समूह, शिवराज नगरपालिका–३ र ५, कपिलवस्तुले माघी पर्वको अवसरमा खिचडी वितरणसहित बृहत् सामाजिक कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यालय गौतमबुद्ध, चन्द्रौटाका प्रमुख महेन्द्रराज वाग्लेले कपिलवस्तु प्राकृतिक वन सम्पदाले धनी जिल्ला भएको उल्लेख गर्दै यसको संरक्षण र दिगो उपयोगमा सामुदायिक वन उपभोक्ता समूहको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। वन संरक्षणसँगै सामाजिक उत्तरदायित्व वहन गर्ने यस्ता अभ्यासले समुदायलाई थप सशक्त बनाउने उनको भनाइ थियो।

कार्यक्रमअन्तर्गत उपभोक्ता समूहभित्र पर्ने जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा सुत्केरी महिलालाई राहत सामग्री वितरण गरिएको थियो। वन उपभोक्ता समूहका अध्यक्ष उत्तम चौधरीका अनुसार ७० जना जेष्ठ नागरिक, ७ जना अपाङ्गता भएका व्यक्ति र २४ जना सुत्केरी महिलालाई दुई क्यारेट अन्डा, हर्लिक्स, ब्ल्यांकेट तथा चउरन परास वितरण गरिएको हो।

त्यसैगरी, उपभोक्ताका घरपरिवारका सदस्यको निधन भएका परिवारलाई काजकिरिया खर्च बापत ८ परिवारलाई जनही १० हजार रुपैयाँका दरले नगद सम्मान प्रदान गरिएको छ। साथै वडा प्रहरी कार्यालयलाई १ थान प्रिन्टरसमेत हस्तान्तरण गरिएको अध्यक्ष चौधरीले जानकारी दिए।

कार्यक्रममा कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष गंगेशनाथ तिवारी, शिवराज नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष टेकलाल सापकोटा, सब–डिभिजन वन कार्यालय खरेन्द्रपुरका वरिष्ठ वन अधिकृत पहलमान सेर्मुजा मगरलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न थारु समुदायको मौलिक भेषभूषा झल्काउने झाँकीसमेत प्रदर्शन गरिएको थियो।