चन्द्रौटा ,कपिलवस्तु ।

आसन्न निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका पत्रकार परियारले निर्वाचन आयोगबाट ‘क्यामेरा’ चुनाव चिन्ह प्राप्त गर्नुभएको छ। परियारले क्यामेरा चिन्ह पाएको खबर सार्वजनिक भएसँगै क्षेत्रभरि मतदातामा उत्साह र हर्षको माहोल सिर्जना भएको छ।


वि.सं. २०६६ सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आउनुभएका परियारले निरन्तर रूपमा जनसरोकारका विषय उठाउँदै पत्रकारिता गर्दै आउनुभएको छ। उहाँले आफ्नो पत्रकारिता यात्रा जागरण मिडिया सेन्टरबाट सुरु गरी रेडियो समानतामा अनुभव हासिल गर्नुभएको थियो। हाल उहाँले आफ्नै निजी रेडियो ‘मेरो साथी एफएम’ सञ्चालन गर्दै समाजलाई सुसूचित गर्ने कार्यमा अग्रसर रहनुभएको छ।
पत्रकारितामार्फत समाजका विकृति, विसंगति, अन्याय र जनताका आवाज उजागर गर्दै आएकाले परियारले आम नागरिकको विश्वास जित्न सफल भएको स्थानीयहरूको भनाइ छ। क्यामेरा चुनाव चिन्ह पत्रकारिताको प्रतीक भएकाले यसले पारदर्शिता, निगरानी र जवाफदेहिताको सन्देश प्रवाह गर्ने मतदाताहरूको धारणा छ।


चुनाव चिन्ह प्राप्त गरेपछि प्रतिक्रिया दिँदै परियारले भन्नुभयो, “क्यामेरा मेरो पेशा मात्र होइन, जनताको दुःख–सुख देख्ने र देखाउने माध्यम हो। यही चिन्ह लिएर म जनताको आवाज नीति निर्माण तहसम्म पुर्‍याउन चाहन्छु।”


यसैबीच, स्थानीय सिद्धिमान जी.सी.ले पत्रकार परियारको उम्मेदवारीलाई सकारात्मक रूपमा लिँदै भन्नुभयो, “लामो समयदेखि पत्रकारितामार्फत समाजलाई सुसूचित गर्दै आउनुभएका परियारले क्यामेरा चुनाव चिन्ह पाउनु खुशीको कुरा हो। उहाँले जनताको पक्षमा निरन्तर आवाज उठाउँदै आउनुभएको छ, त्यसैले उहाँप्रति जनताको भरोसा बढ्दै गएको छ।”


युवा, नागरिक समाज तथा बौद्धिक वर्गले परियारको उम्मेदवारीलाई सकारात्मक रूपमा लिएका छन्। चुनाव नजिकिँदै जाँदा क्यामेरा चिन्हसहित उहाँको चुनावी अभियान थप सक्रिय बन्दै गएको छ।