चन्द्रौटा,कपिलवस्तु ।

शिवराज नगरपालिका वडा नं. २ मा राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम निर्माण गर्ने प्रस्ताव स्वतन्त्र अभियन्ता तथा पत्रकार परियारले अघि सार्नुभएको छ। प्रस्तावित स्टेडियम निर्माणले जिल्लामा क्रिकेट खेलको विकाससँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने विश्वास गरिएको छ।

पत्रकार परियारले खेलकुद पूर्वाधारको अभावका कारण स्थानीय प्रतिभाहरू ओझेलमा पर्ने अवस्था रहेको उल्लेख गर्दै राष्ट्रिय क्रिकेट स्टेडियम निर्माण समयको आवश्यकता भएको बताउनुभयो। उहाँका अनुसार शिवराज क्षेत्र भौगोलिक रूपमा उपयुक्त, यातायात तथा अन्य आधारभूत सुविधाका दृष्टिले पनि स्टेडियम निर्माणका लागि अनुकूल स्थान हो।

स्थानीय खेलाडी तथा क्रिकेटप्रेमीहरूले यस प्रस्तावलाई सकारात्मक रूपमा लिएका छन्। स्थानीय क्रिकेट खेलाडी नरेन खत्री क्षेत्रीले स्टेडियम बन्ने प्रस्ताव अत्यन्त राम्रो र स्वागतयोग्य भएको प्रतिक्रिया दिनुभयो। “राष्ट्रिय क्रिकेट स्टेडियम बनेमा यहाँका युवाले आफ्नै जिल्लामा गुणस्तरीय अभ्यास र प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्,” उहाँले भन्नुभयो।

खत्रीले थप्दै भन्नुभयो कि स्टेडियम निर्माणले मात्र खेलाडी उत्पादन नभई खेल पर्यटन, रोजगारी र स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्नेछ। स्थानीय तह, प्रदेश र संघीय सरकारले समन्वय गरी यस प्रस्तावलाई कार्यान्वयनतर्फ लैजानुपर्ने उहाँको धारणा छ।

स्थानीय बासिन्दाहरूले पनि क्रिकेट स्टेडियम निर्माणले शिवराज क्षेत्रलाई खेलकुदको केन्द्रका रूपमा चिनाउने विश्वास व्यक्त गरेका छन्। अब सम्बन्धित निकायले यस प्रस्तावलाई गम्भीरतापूर्वक अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।