पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा भएको हिंसाप्रति दुःख व्यक्त गर्नुभएको छ। भिडिओ सन्देशमार्फत उहाँले सम्पूर्ण नेपाली जनतालाई नयाँ वर्षको शुभकामना दिँदै वर्षको बिदाइ ‘घनघोर निराशा’को बीचमा हुन थालेको टिप्पणी गर्नुभयो।

उहाँले उक्त प्रदर्शन हिंसात्मक बनेको स्वीकार गर्दै भन्नुभयो, “केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी र तोडफोड भयो, त्यसबाट भएको मानवीय तथा भौतिक क्षतिले हामी अत्यन्तै दुःखी भएका छौँ।”

तर, उहाँले सो घटनाको प्रत्यक्ष जिम्मेवारी भने लिनुभएन। स्मरणीय छ, उक्त प्रदर्शन पूर्वराजाकै आह्वानमा गठन भएको संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा सम्पन्न भएको थियो।

सन्देशमा पूर्वराजा शाहले राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याउँदै, बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्र जनभावनाअनुरूप अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो।

उहाँले राज्यशक्तिको मूल स्रोत जनता नै रहेको उल्लेख गर्दै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई राज्य सञ्चालनको मार्गदर्शक बनाउनुपर्नेमा जोड दिनुभयो। सन्तुलित कूटनीति, आत्मनिर्भर अर्थतन्त्र र राष्ट्रिय स्वाभिमानमा आधारित नेपालको परिकल्पनालाई ‘पृथ्वीपथ’को मूल सार भन्दै त्यसैमार्फत देश अघि बढ्नुपर्ने उहाँको आग्रह थियो ।