दिपक खड्का चन्द्रौटा, कपिलवस्तु ।

विजयनगर गाउँपालिकामा जारी दोस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगितामा वडा नं. १ र वडा नं. २ बीच रोमाञ्चक खेल शंकरपुर खेल मैदानमा सम्पन्न भएको छ।

कडा प्रतिस्पर्धाले भरिएको यस खेलमा वडा नं. २ ले १५ रनको जित हासिल गर्दै आफ्नो पकड मजबुत बनाएको थियो । वडा नं. २ ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्यो। निर्धारित १० ओभरको खेलमा उसले ७ विकेटको क्षतिमा १०८ रन बनायो। टोलीको उत्कृष्ट प्रदर्शनका कारण विपक्षी टिमलाई चुनौतीपूर्ण लक्ष्य प्राप्त गर्न कठिनाइ भयो।

१०९ रनको लक्ष्य पछ्याउने क्रममा वडा नं. १ ले सुरुवाती केही आक्रामक प्रहार गरे पनि, विपक्षी बलरहरूको उत्कृष्ट प्रदर्शनका कारण टोली १० ओभरमा ९ विकेट गुमाउँदै ८८ रनमै समेटिना पुग्यो र वडा नं. २ ले १५ रनको महत्वपूर्ण जित दर्ता गर्न सफल भयो।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै वडा नं. २ का राजा हुसेन म्यान अफ द म्याच घोषित भएका थिए । उनको उत्कृष्ट ब्याटिङ र बलिङ प्रदर्शन टोलीको जितको प्रमुख आधार बनेको थियो ।