शिवराज नगरपालिका वडा नं. ४ मा मदरसाका किशोरीहरूका लागि आत्मरक्षा तालिम सुरु
दिपक खड्का चन्द्रौटा,कपिलवस्तु ।
शिवराज नगरपालिका वडा नं. ४ मा रहेको मदरसामा अध्ययन गर्ने किशोरीहरूको लागि आत्मरक्षा तालिम सञ्चालन गरिएको छ । जिल्ला मै पहिलो पटक मदरसामा यस्तो तालिम सुरु हुँदा स्थानीय समुदायमा चासो र उत्साह देखिएको वडा अध्यक्ष नसिम अहमद खाँले बताउनुभयो।
किशोरीहरूको सुरक्षा र आत्मनिर्भरता सुनिश्चित गर्ने उद्देश्यले वडाबाट बजेट विनियोजन गरिएको खाँले बताउनु भयो । समाजमा किशोरीहरूको सुरक्षा पहिलो प्राथमिकता रहेकोले यो तालिमबाट उनीहरूलाई केवल शारीरिक सुरक्षा मात्र नभइ आत्मविश्वास र मानसिक बल पनि बढ्ने खाँले बताउनु भयो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै शिवराज नगरपालिकाका शिक्षा तथा खेलकुद शाखाका प्रमुख पूर्ण बहादुर विश्वकर्माले वडाले राम्रो कार्यको सुरुवात गरेको बताउनु भयो । विश्वकर्माले किशोरीहरूको सशक्तिकरणको यो अभियानले नगरमा सकारत्मक सन्देश प्रवाहहुने बताउनु भयो । यस्ता कार्यक्रम प्रत्येक मदरसामा सञ्चालन गर्नु पर्ने धारणा राख्नु भयो ।
चार दिनसम्म सञ्चालन हुने आत्मरक्षा तालिम लोक सञ्चार मिडिया प्रा.लि.को आयोजना तथा वडा नं. ४ को सहयोगमा शुभ आरम्भ गरिएको निर्देशक नवराज पौडेलले जानकारीदिनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका कपिलवस्तुका सचिव शनि उल्ला धोबी र अकोराब लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष राजु खरालले तालिम प्रति आफ्नो धारणा राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























