दिपक खडका चन्द्रौटा,कपिलवस्तु ।

प्यारी आमा

हजुर स्वर्गीय भएको धेरै दिन भइसक्यो तर सम्झनाहरू भने आँखा अघि-पछि गरि रहेको छ । मेरो लागि हजुर  सधैं जीवित हुनुहुन्छ । आमा छोराको संगै हिँडेको यात्रा ४० वर्षसम्म मात्र रह्यो । म मात्र होइन मलाई माया गर्ने  हाम्रा इष्टमित्र  साथीभाइ सबै हजुरको अचानक विदाइले स्तब्ध भएका थिए । किन यति छिट्टै हामीलाई छोडेर जानु भयो आमा ?

मैले हजुरले चाहनु भएको जति प्रगति गर्न सके वा सकिन त्यो हजुरले पक्कै मूल्याङ्कन गर्नु भएको होला । हजुरको ममताको छाँया बिना म आफूलाई अहिले धैरे कमजोर महसुस गरिरहेको छु । मलाई आज भोली सत्य लाग्न थाल्यो वास्तवमै  छोरा मान्छे शेर तबसम्म मात्र हुन्छ जबसम्म उसका बुवा-आमा साथमा हुन्छन् ।

हजुरले मलाई दिनुभएको हरेक प्रेरणादायी शब्दहरू, मार्गदर्शन र सम्झनाहरू अहिले पनि मेरो मस्तिष्क वरिपरि गुञ्जिरहेका छन् । जस्तै अर्जुनका छोरा अभिमन्युले आमाको गर्भमा चक्रव्यूह तोड्ने मन्त्र सिकेका थिए, ठीक त्यसरी नै हजुरका हरेक शब्दहरू मेरो लागि उर्जा बनेको छ । म सँग अहिले  पनि धेरै कुरा गर्ने शक्ति छ । तर हजुरको शब्दहरूको अभाव गहिरो महसुस भइरहेको छ ?

आमा हजुर मलाई छोडी जानु भयो तर म रुन पनि सकिनँ समाजको नियम छोरा मान्छेले रुनु हुँदैन रे ! आँखा भरिएर आउँथे मन अमिलो हुन्थ्यो तर आँसु झार्न सकिन । कहिले आफैलाई एक्लै भएको महसुस गर्थे  कहिले ति साना नानीबाबु र  श्रीमती सम्झिन्थे । यदि म रोए भने उनीहरूलाई कसले सम्झाउछ  त्यसैले पटक–पटक रुने प्रयास गरे तर रुन सकिन्न् ।

हजुरको विदाइले मलाई १३ दिन १३ वर्षजस्तै लाग्यो । बुबा जाँदा मलाई यति ठूलो पीडा भएन जति हजुर गुमाउँदा भयो । बुबा गुमाउँदा आमा हजुर हुनुहुन्थ्यो तर आमा हजुरलाई गुमाउँदा म संग कोही भएन र म टुहुरो भएको अनुभुति गरिरहेको छ ।

एकदिन हजुरलाई सपनामा देखे र हाम्रो गाउँको वाटोमा संगै यात्रा गरेको सम्झना आयो मैले हजुरलाई सोधे किन आमा यति चाँडै जानु भयो ? तर हजुर केही बोल्नु भएन केवल हसिलो अनुहार सहित मुस्काउँदै अगाडि बढिरहनु भयो । मैले फेरि भने धेरै मानिसहरू हजुरलाई घाटमा बिदाइ गर्न आएका थिए ।

मैले हजुरको १३ औ दिनको पुन्य तिथिमा ५० लिटर दूधले पुग्दैन भनेर ८० लिटर मगाएको थिएँ। हजुर हल्का हाँस्दै भन्नु भयो किन यति धेरै खर्च गरेको ? मैले भने म त हजुरको छोरा हो इज्जत फाल्न त भएन नि आमा ! हजुरको मन अहिले पनि छोराको एक रुपैया खर्च नहोस भन्ने नै छ आमा  ।

त्यति भनेर हजुर विस्तारै विलय हुनुभयो  म हतारहतार वरिपरि खोज्न थाले आमा-आमा तर हजुर कही देखिनु भएन । म निद्राबाट ब्यूँझिए मनभरि पीडाको बादल लिएर नुहाइ धुवाइ गरि आफ्नो काम तिर लागे । केही दिन पहश्चात हजुर फेरी सपनामा आउनु भयो र भन्नु भयो दिपु किन मलाई जल नफेरेको त्यो दिन बिहान नुहाएर हजुरको फोटोमा तोरीको तेलको दियो बालेर जल चढाए ।

त्यसपछिका दिनहरुमा  हजुर सपनामा आउनु छोडनु भयो आमा  हजुर जहाँ हुनुहुन्छ, खुशी हुनु होला मलाई त  टुहुरो बनाएर जानुभयो तर दुख कष्ट सहन सक्ने मुटु दिएर जानुभयो आमा ! हजुरलाई भन्न मन लागेको धेरै कुरा छ  आमा हजुरकै आशीर्वादले नातिनी बिदिशा अर्धवार्षिक परीक्षा  सबै विषयमा पास गरिन् ।

नाती आदित्यले ४ जीपीए ल्याएर कक्षा प्रथम गर्यो । रिजल्ट आएको दिन उनीहरुले हजुरलाई धैरे सम्झेका थिए । उनिहरुले  मलाई फोन गरेर  ड्याडी लड्डु लिएर आउनु होला भन्ने मैले लडडु ल्याए अनि उनिहरुले हजुर र बुवालाई लड्डु चढाएर आशिर्वाद लिए ती दिनहरू अहिले पनि झलझल्ती सम्झिरहेछु आमा !

कहिलेकाहीं लाग्छ  हजुर भारतमा बहिनीको घर गएको हो कि हजुर फर्केर आउने हो कि जस्तो लाग्छ र मलाई महसुस हुन्छ तर वास्तविकता त आर्के रहेछ  हैन र आमा ? हजुरले नखाई-नखाई जम्मा गरेको रकम हाम्रो परिवारले सदुपयोग गर्ने निर्णय गरेका छौँ र यसमा बहिनीको पनि राय लिएका छौँ सबैको इच्छा अनुसार हजुर र बुवाको स्मृतिमा एउटा विद्यालयमा अक्षयकोष स्थापना गर्ने योजना बनाएका छौँ ।

हरेक वर्ष एक जना केटा र एक जना केटी गरिब विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेका  छौँ । हजुरले सधैं  शिक्षालाई महत्त्व दिनुहुन्थ्यो र अब हजुरहरुकै नामबाट कसैले राम्रो शिक्षा पाओस् भन्ने हजुरको इच्छा र सम्झना हामले सानो प्रयास गरेका छौँ ।

हजुर स्वर्गीय हुनुभयो  तर हाम्रो मनभित्र सधैं जीवित रहनुहुनेछ  हजुरले छाडेर जानु भएका सबै सपनाहरु पुरागर्ने प्रयास गरिरहनेछु । मलाई चटान जस्तो  सहने शक्ति दिनुभयो आमा हजुरलाई यो जुनी नभइ हरेक जुनीमा हजुरको कोखवाट जन्मनै सोभाग्य प्राप्त होस मलाई । हजुर जहाँ हुनुहुन्छ सधैं सुखी हुनुहोस् ।

हजुरको आशिर्वाद हामी सबैमाथि रहिरहोस्।

तपाईंको सम्झनामा
तपाईंको छोरा-दिपु