नेपाल बैंक शाखा चन्द्रौटाबाट रकम गायब ? अनुसन्धान जारी, अस्पताल र बैंकका कर्मचारीमाथि शंका
कपिलवस्तुको चन्द्रौटामा रहेको आधारभूत अस्पतालमा करिब ३८ लाख रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको गम्भीर आशंका सार्वजनिक भएको छ। अस्पतालले उक्त रकम नेपाल बैंक लिमिटेड, चन्द्रौटा शाखामा जम्मा गरिएको देखाए पनि बैंकको आधिकारिक विवरणमा सो रकम नदेखिएपछि प्रकरणले जटिल मोड लिएको हो।
आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणका क्रममा अस्पतालका कागजातमा १२८ वटा भौचरमार्फत बैंकमा रकम जम्मा गरिएको उल्लेख भए पनि बैंक स्टेटमेन्टमा ती रकमहरू नदेखिएपछि अनियमितताको शंका थप बलियो बनेको हो।
प्रारम्भिक अध्ययनअनुसार भौचर र बैंक विवरणबीच ठूलो अन्तर देखिएको छ। स्रोतका अनुसार प्रयोग भएका केही भौचरमा बैंकको छाप समेत शंकास्पद देखिएकाले योजनाबद्ध रूपमा रकम हिनामिना गरिएको हुनसक्ने आशंका गरिएको छ।
यस विषयमा शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाको हस्ताक्षरसहित बैशाख ४ गते वडा प्रहरी कार्यालय चन्द्रौटालाई पत्र पठाउँदै छानबिन गरी दोषीमाथि कारबाही गर्न निर्देशन दिइएको छ। नगरपालिकाले घटनालाई गम्भीर रूपमा लिएर तत्काल अनुसन्धान अघि बढाउन आग्रह गरेको छ।
त्यसैगरी नगर प्रमुख अजय थापा, वडा नं. ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासे तथा स्वास्थ्य शाखा प्रमुख चुडामणी भण्डारीले सम्बन्धित बैंक र प्रहरी निकायमा आवश्यक प्रक्रिया अघि बढाइसकेको जानकारी दिएका छन्।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र बेल्वासेले बैंक विवरणमा रकम किन नदेखिएको भन्ने विषयमा स्पष्टता माग गर्दै सम्बन्धित बैंकलाई औपचारिक पत्राचार गरिएको बताए। बैंकको आधिकारिक जवाफ प्राप्त भएपछि थप अनुसन्धान अघि बढाइने उनले जनाएका छन्।
स्थानीय तहमा भने बैंक र अस्पतालका केही कर्मचारीबीच मिलेमतो भएको हुनसक्ने आशंका समेत व्यक्त गरिएको छ। यद्यपि, यसबारे आधिकारिक पुष्टि भने हुन बाँकी छ।
उक्त घटनाले स्वास्थ्य संस्थाको आर्थिक पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ। अबको अनुसन्धानले वास्तविक तथ्य बाहिर ल्याई संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























