कपुरी डेक्स

काठमाडौं। खेलकुद क्षेत्रमा प्राविधिक दक्षता र खेलका नियमबारे सबै तहका सहभागीलाई ज्ञान प्रदान गर्न खेलकुद विश्वविद्यालयको आवश्यकता दिनानुदिन महत्त्वपूर्ण बन्दै गएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले खेलकुद विश्वविद्यालयको स्थापना नेपालमा खेल क्षेत्रको विकासको लागि अपरिहार्य भएको बताउनु भएको छ।

महरले पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसको क्रिकेट टिमद्वारा आयोजित “डब्लूआरसी प्रियम लिग” को उद्घाटन समारोहमा बोल्दै, खेल क्षेत्रलाई अगाडि बढाउन सरकार उदार हुनुपर्नेमा जोड दिनुभयो। “खेलाडी, प्रशिक्षक, कोच, एम्पायर, रेफ्री जस्ता दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालय स्थापना आवश्यक छ। सरकारले यसतर्फ गम्भीर ध्यान दिनुपर्छ,” महरले भन्नुभयो।

खेलकुदमा निष्पक्षता र मर्यादा कायम राख्न एम्पायरिङ, रेफ्रिङ, र स्कोरिङलाई व्यावसायिक बनाउनुपर्ने आवश्यकता रहेको महरको भनाइ छ। खेलाडीहरूले खेलका नियमको ज्ञान नपाउँदा मैदानमा अनावश्यक विवाद उत्पन्न हुने गरेको र खेलको स्तरमा समेत असर परेको उल्लेख गर्दै उहाँले खेलाडीलाई यसबारे प्रशिक्षण दिनु महत्त्वपूर्ण भएको बताउनुभयो।

एम्पायर दिपक पोखरेल, जो स्थानीय स्तरमा क्रिकेट एम्पायरिङमा संलग्न हुनुहुन्छ, वहाँले महरको धारणा प्रति समर्थन जनाउँदै भन्नुभयो, “जबसम्म खेलकुदका विभिन्न विधामा प्राविधिक जनशक्ति तयार हुँदैन, तबसम्म खेल क्षेत्रले सार्थकता पाउन सक्दैन। एम्पायर, रेफ्री, स्कोरर लगायतका विषयमा गहन तालिम अनिवार्य छ।”

पोखरेलका अनुसार खेलाडीलाई खेलकुदको नियमबारे स्पष्ट जानकारी दिन सकेमा खेलको निष्पक्षता मात्र नभई खेलाडीहरूको मानसिकतामा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ। “खेलकुदले अनुशासन र आत्मविश्वास निर्माण गर्छ, र यसको लागि आधारभूत ज्ञान र प्रशिक्षण अपरिहार्य छ,” उहाँले भन्नुभयो।

महरले खेल क्षेत्रमा प्रविधिको प्रयोग पनि महत्त्वपूर्ण रहेको औंल्याउनुभयो। खेलाडीको प्रदर्शन सुधार गर्न डेटा एनालिटिक्स, एआइ, र साइबर सुरक्षा जस्ता आधुनिक प्रविधिको प्रयोग गर्न सकिने धारणा राख्दै, उहाँले भन्नुभयो, “नेपाली इन्जिनियरहरूले खेल व्यवस्थापन प्रणालीलाई थप सुरक्षित र प्रभावकारी बनाउन योगदान दिन सक्छन्। म्याच फिक्सिङ रोक्नदेखि लिएर स्मार्ट कोचिङ टुल प्रयोग गरी नयाँ प्रतिभाको पहिचान गर्न प्रविधिको महत्त्वपूर्ण भूमिका हुन्छ।”

महरले नेपाल प्रिमियर लिग (एनपीएल) को सफल आयोजनालाई उदाहरण दिँदै यस्ता लिगहरू स्थानीय तहसम्म विस्तार गर्नुपर्ने बताउनुभयो। “केन्द्रमा मात्र होइन, देशका विभिन्न कुना-कन्दरामा पनि लिग आयोजना गरिनुपर्छ। यसले युवा खेलाडीलाई मौका प्रदान गर्छ र राष्ट्रिय टिमलाई बलियो बनाउन मद्दत पुर्‍याउँछ।”