नवराज पौडेलको अध्यक्षतामा २९ सदस्यीय रिपोर्टर्स क्लब नेपाल कपिलवस्तुको कार्यसमिति चयन
कपिलवस्तु, पुस २०
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष वसन्त गिरीले व्यवसायिक पत्रकारिता गर्नुपर्ने धारणा राख्नुभएको छ। रिपोर्टर्स क्लब नेपाल कपिलवस्तुको चौथो अधिवेशनलाई सम्बोधन गर्दै पूर्व अध्यक्ष गिरीले व्यवसायिक पत्रकारिता र विधागत पत्रकारिता तर्फ सबै पत्रकार लाग्नुपर्ने बताउनुभयो।
रिपोर्टर्स क्लब कपिलवस्तुको अधिवेशनलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका उपाध्यक्ष खग प्रसाद चापागाईले पत्रकारहरूले सत्यतथ्य समाचार तर्फ ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले नवनिर्वाचित समितिले पत्रकारिताको मर्यादाभित्र रही कार्य गर्नुपर्ने सुझाव दिनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै चेम्बर अफ कमर्स कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले पत्रकारहरूले व्यवसायिक पत्रकारिता गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले पत्रकारहरूले आफ्नो गाउँठाउँका समाचारहरूलाई प्राथमिकताका साथ छाप्नुपर्ने धारणा राख्नुभयो।
चन्द्रौटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वरी पाण्डेले धेरै मिडिया भएका कारण सबैलाई एकीकृत गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
शिवराज नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष खिमविक्रम केसीले पत्रकारहरूले स्थानीय सरकारका समाचारलाई विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो।
लुम्बिनी प्रदेश अकोराबका पूर्वअध्यक्ष राजु खरालले कपिलवस्तु पश्चिमका पत्रकारहरू क्रियाशील बन्दै गएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले पत्रकारहरू संस्थागत विकास तर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको अध्यक्षता गरिरहनुभएका शनिल्ला धोबीले पत्रकारितालाई मजबुत तरिकाले अगाडि बढाउनुपर्ने बताउनुभयो। उहाँले व्यापारी र व्यवसायीहरूले पत्रकारलाई सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
रिपोर्टर्स क्लब नेपाल कपिलवस्तुको चौथो अधिवेशनले नवराज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। कपिलवस्तुको चेम्बर अफ कमर्सको सभाहल चन्द्रौटामा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सुर्य गुरुङ, उपाध्यक्षमा बृजेश जयसवाल, महिला उपाध्यक्षमा विष्णु (विपना) पौडेल, महासचिवमा केशव बेल्बासे, सचिवमा अजय मिश्र, समावेशी सचिवमा बृजेश यादव, कोषाध्यक्षमा अनेक पाण्डे, सह-कोषाध्यक्षमा कृष्ण पौडेल सहित २९ सदस्यीय कार्यसमिति चयन गरेको निर्वाचन समितिका संयोजक राजु खरालले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























