लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई १९२ रनको चुनौती दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा टस हारेर ब्याटिङमा आएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रनको प्रभावशाली स्कोर बनाएको हो।
जारी एनपीएलको एकै खेलमा यो अहिलेसम्मको सर्वाधिक स्कोर हो। यसअघि मंगलबार सुदूरपश्चिम रोयल्सले पनि विराटनगरविरुद्ध १८२ रन बनाएको थियो।
लुम्बिनीका कप्तान रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै २९ बलमा ४ चौका र २ छक्कासहित ४६ रन जोडे। इंग्ल्यान्डका टम मुर्सले १७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३० रन बनाए। रोहित र टमले तेस्रो विकेटका लागि ६७ रनको महत्वपूर्ण साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याए।
साझेदारी तोडिएपछि विराटनगरले बलिङमा सुधार गर्दै लुम्बिनीलाई रोक्ने प्रयास गरेको थियो। तर, अन्त्यतिर विवेक यादवले ७ बलमा ३ छक्कासहित अविजित १९ रनको विस्फोटक इनिङ्स खेलेपछि लुम्बिनीले १९१ रनको लिगकै उच्च स्कोर बनाउन सफल भयो।
अन्य खेलाडीहरूको प्रदर्शनमा अर्जुन साउदले १७, आशुतोष घिरैया र साद विन सफरले समान १५ रन, र सन्दीप जोराले १२ रन बनाए। अष्ट्रेलियाली अलराउन्डर बेन कटिङ ६ रनमा आउट भए भने रामोन सिमोण्ड्स २ रनमा अविजित रहे।
बलिङतर्फ विराटनगरका सन्दीप लामिछाने, राजेश पुलामी मगर, र इस्मात आलमले समान १/१ विकेट लिए। विशेषगरी, सन्दीपले लिगको तेस्रो खेलमा पहिलो विकेट लिएका थिए। लुम्बिनीका चार खेलाडी रनआउट भएका थिए, जसले पनि स्कोर बनाउने क्रममा महत्त्वपूर्ण भूमिका खेल्यो।