बलरहरू ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको प्रदर्शन अनि लाहिरु मिलान्थाको सानदार अर्धशतकमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा विराटनरग किंग्सलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।
मिलान्थाको अविजित अर्धशतक मद्दतमा विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट मात्र गुमाएर १३१ रन बनाउदै पूरा गर्यो ।
मिलान्थाले ५३ बल खेल्दै ९ चौका र ३ छक्का मद्दतमा अविजित ७५ रन बनाए । उनलाई साथ दिएका थाकरले ३३ बलमा अविजित २६ रन बनाए ।
विराटनगरका क्रिस सोलले वाइड फालेपछि जनकपुरले पहिलो ओभरको पहिलो बलमै ११ रन जोडेको थियो । तर, सोलले आसिफ शेखलाई बोल्ड गर्दै विराटनगरलाई विकेट दिलाएका थिए ।
कप्तान अनिल शाह पनि व्यक्तिगत ५ रनमा आउट हुँदा जनकपुरले १५ रनमै २ विकेट गुमाएको थियो । प्रतिश जिसीले कप्तान अनिललाई बोल्ड गरेका थिए । तर, त्यसपछि मिलान्था र हर्ष थाकरले मिलेर इनिङ्स समाले । यो जोडीले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे ।…….