मोबाइल सेवा प्रदायक एनसेलले आफ्नो मोबाइल एपमार्फत नेपाल प्रिमियर लिग (एनपीएल)को लाइभ प्रसारण गर्ने घोषणा गरेको छ। ‘पावर्ड बाई’ एनसेलले आफ्ना ग्राहकहरूलाई यो सुविधा उपलब्ध गराउने योजना बनाएको हो। कम्पनीले यसबारे थप जानकारी चाँडै सार्वजनिक गर्ने जनाएको छ। आठ फ्रेन्चाइज टिमहरूले प्रतिस्पर्धा गर्ने यो लिग शनिबारदेखि सुरु हुँदैछ।
यसका साथै, एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षा सँग जोड्ने उद्देश्यले नयाँ पहल सुरु गरेको छ। यस अन्तर्गत, प्रत्येक खेलमा हानिने चौकाको आधारमा, ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई चार प्रकारका शैक्षिक सामग्री उपलब्ध गराइने घोषणा गरिएको छ।
फाउन्डेसनका अनुसार, यी शैक्षिक सामग्रीहरूले विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक प्रभाव पार्नेछ। प्रत्येक शैक्षिक किटमा आवश्यक सामग्रीहरू समावेश हुनेछन्, जसले स्रोतको अभावलाई कम गर्दै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न मद्दत गर्नेछ।
एनसेलकी कर्पोरेट कम्युनिकेसन र सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले भनिन्, “क्रिकेटले एकता र प्रेरणा प्रदान गर्छ। यस पहलमार्फत हामी क्रिकेटको चाख र शक्तिको उपयोग गरेर ग्रामीण र दुर्गम क्षेत्रका विद्यार्थीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन चाहन्छौँ। शिक्षा दिगो विकासको प्रमुख आधार हो, र यो पहलले भावी पुस्तालाई सक्षम बनाउने हाम्रो प्रतिबद्धता दर्शाउँछ।”
फाउन्डेसनले शैक्षिक सामग्रीको वितरण क्रिकेट एसोसिएसन नेपाल (क्यान), स्थानीय निकाय, र अन्य सरोकारवालाहरूको समन्वयमा गर्ने जनाएको छ।