११ साउन, काठमाडौं । जबर्जस्ती करणी मुद्दाकी पीडित गौशाला–२६ ले सरकारी वकिलको कार्यालयलाई दिएको निवेदनको प्रतिलिपि अनलाइनखबरले प्राप्त गरेको छ ।

उच्च अदालत, पाटनले प्रतिवादी सन्दीप लामिछानेलाई सफाइ दिएपछि गौशाला २६ ले बुधबार ‘मुद्दाको थप कारबाही अगाडि बढाउनु नपर्ने’ भन्दै निवेदन दिएकी थिइन् ।

निवेदनमा उनले लामिछानेलाई सफाइ दिइएको आधार सहितको फैसलाको पूर्णपाठ अध्ययन गरेको भन्दै भनेकी छन्, ‘यस मुद्दा दर्ता भएलगत्तैदेखि मेरो मानसिक एवं सामाजिक जीवनमा परेको अतुलनीय असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादी विरुद्धको भ्रमपूर्ण खबर र ममाथि दबाब फैलाउँदै आएका थिए ।’

लामो समयदेखि यो घटनाका कारण आफू त्रासपूर्ण जीवन बाँच्दै आएको भन्दै उनले भनेकी छन्, ‘सम्मानित अदालतले आफ्नो फैसलामा लिएका आधारहरूलाई सम्मान गर्दै आफ्नो त्रासरहित एवं शान्तिपूर्ण जीवन जीउनु नै मेरो प्राथमिकता रहेकाले प्रस्तुत मुद्दाको कारबाही अगाडि नबढाउनु हुन निवेदन गर्दछु ।’

गौशाला २६ ले आफ्ना निकटस्थहरूसँग भने मुद्दाका कारण मानसिक र शारीरिक रुपमा एकदमै अफ्ठ्यारो अवस्थामा पुगेको भन्दै भनेकी छन्, ‘मैले कसैको दबाबमा जाहेरी दिएको थिइनँ, ऊ गलत भएकैले मैले निवेदन दिएको थिएँ । मेरो नियत जम्माजम्मी अरु कोही किशोरीले मैले जस्तो भोग्नु नपरोस् भन्ने थियो ।’