काठमाडौँ —अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको ट्वान्टी-२० विश्वकपमा खेल्न जान अमेरिकी भिसा निवेदन दिएका थिए । बुधबार सामाजिक सञ्जाल एक्समा लामिछानेले आफूले भिसा नपाएको जानकारी दिएका छन् ।
सन् २०१९ मा पनि क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जान लागेका लामिछानेलाई अमेरिकी दूतावासले सुरुमा भिसा दिएको थिएन । फेरि सामाजिक सञ्जालमा आलोचना भएपछि बोलाएर अमेरिकाले भिसा दिएको थियो ।
उनले आफूले भिसा नपाएसँगै नेपाली क्रिकेट समर्थकसँग क्षमा मागेका छन् ।
लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानेलाई ट्वान्टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा सहभागी गराएको थियो ।
ट्वान्टी-२० विश्वकप क्रिकेटका लागि अन्य नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् । नेपालले पहिलो खेल जुन ४ (२२ जेठ) मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ।