न्युज डेक्स,चन्द्रौटा । शिवराज नगरपालिका ५, चन्द्रौटा निवासी पाण्डे दम्पत्तिबाट श्री सरस्वती आधारभूत विद्यालय शिवराज १, शिवपुरमा अक्षयकोष स्थापना गरिएको छ ।
विद्यालयकी भूतपूर्व प्रधानाध्यापक सरस्वती पाण्डेले माइती घरका बुवा स्वर्गीय शालिकराम भण्डारी, आमा तुल्सा भण्डारी तथा श्रीमान् टीकाराम पाण्डे र आफूसहित ४ जनाको नामबाट विद्यालयलाई अक्षयकोष बापत ३१ हजार पाँच रूपैयाँ विद्यालयका अध्यक्ष जगत बहादुर जिसीलाई हस्तान्तरण गर्नुभएको हो ।
विद्यालयमा अध्ययनरत गरिब, विपन्न विद्यार्थीलाई शैक्षिक पठनपाठनमा थप सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले अध्यापन गरेको विद्यालयमा अक्षयकोष स्थापना गरेको पाण्डेले बताउनुभयो ।
वि.सं. २०४७ मा स्थानीयको पहलमा स्थापना भएको विद्यालयको शैक्षिक जग बसाल्ने पहिलो प्रधानाध्यापक हुनुहुन्छ उहाँ । विद्यलयको नाम र कुनै पनि दरबन्दी नै नभएको स्कूलमा
स्थायी दरबन्दीको कोटासहित आफ्नै नामबाट विद्यालयको नाम नामाकरण गरि वि.सं. २०४९ पुस ९ गतेका दिन उहाँ विद्यालमा प्र.अ.को जिम्मेवारी सम्हाल्नु भएको थियो । साथै विद्यालयको शैक्षिक पूर्बाधार निर्माणमा सरस्वती पाण्डेका श्रीमान टीकाराम पाण्डेको भूमिका पनि अतुलनीय छ । उहाँले नै तत्कालिन जिल्ला शिक्षा कार्यालय धायर सबै प्रक्रिया चाल्नु भएको हो ।
उहाँहरूले जग बसाल्नु भएको विद्यालयमा अहिले अक्षयकोष खडा गरेर पुन: नयाँ इँट्टा थप्ने काम गर्नुभएकोमा विद्यालय परिवारलाई थप उर्जा मिलेको विद्यालयका अध्यक्ष जगत बहादुर जिसीले खुशी ब्यक्त गर्नुभयो । साथै अध्यक्ष जिसीले सहयोगी मनहरूप्रति सधन्यबाद टक्र्याउँदै हार्दिक आभार प्रकट गर्नुभयो ।
त्यसअघि विद्यालयमा डालबहादुर वि.क.ले स्वर्गीय धर्मपत्नीको स्मृतिमा पहिलो पटक विद्यालयमा रु २५ हजारको अक्षयकोष खडा गर्नुभएको थियो । त्यसपछि विद्यालयमा एक कार्यकाल शिक्षक अभिभावक संघका अध्यक्ष रहनुभएका गणेश प्रसाद उपाध्यायको स्वर्गारोहणपछि उहाँकी धर्मपत्नी सुमनदेवी अधिकारीसहित चार भाइको तर्फबाट विद्यालयको अक्षयकोषमा रु. ५० हजार थप गर्नुभएको थियो ।
यसैगरि स्थानीय कृष्ण प्रसाद खनाल ज्यूले आफ्नो चौरासी पूजामा तुलादानमा चढाएको रू १५ हजार ५५ रुपैयाँ विद्यालयलाई अक्षयकोषको रूपमा प्रदान गर्नु भएको थियो । भने उहाँको स्वर्गबासपछि छोरा बाबुराम खनालले पुन: बुवाको स्मृतिमा थप रू १५ हजार १ सय पाँच रूपैयाँ यही २०८० को वसन्त पञ्चमीको अवसरमा विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो ।
विद्यालयमा स्थापना भएको अक्षयकोषको ब्याजबाट विद्यालयले वार्षिक उत्सवको दिन ७५ प्रतिशत रकम बराबर विपन्न विद्यार्थीलाई छात्रवृत्ति र २५ प्रतिशत रमक सावाँमा थप गरि अक्षयकोषलाई वृद्धि गर्दै लगेको छ । विभिन्न सहयोगी मनहरूबाट प्राप्त अक्षयकोषबाट धेरै विद्यार्थीको पढाइमा टेवा पुगेकाले आगामी दिनमा यसलाई अझ थप वृद्धि गरि उपब्धीमूलक बनाउन अन्य सहयोगी मनहरूबाट सहयोगको अपेक्षा गरेको छ । सबैको पहल, सहयोग र सहकार्यले आज विद्यालय एक नमूना विद्यालयको रूपमा पहिचान कायम गर्न अगाडि बढेको छ ।