राम अवतार चौधरी
चन्द्रौटा(कपिलवस्तु), २ माघ ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ उमरीमा माघी महोत्सव सुरु भएको छ । थारु संग्रहालय उद्धघाटन तथा नगरस्तरीय माघी (खिचडी) महोत्सव सुरु भएको आयोजकले जनाएको छ । महोत्सव र संग्रहालय उद्धाघाटन एकैसाथ भएको जनाइएको छ ।
३ दिने माघी खिचडी महोत्सवको सोमबार एक औपचारिक कार्यक्रमका बीच लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले समुद्घाटन गरेका हुन् । केन्द्रीय, प्रदेश र स्थानीय गरि करिब २ करोडको लागतमा निर्माण भएको थारु संग्रहालय सञ्चालन भएको थारु संग्रहालय संरक्षण समितिका अध्यक्ष प्रकाश थारुले जनाए । सदस्य केसीले पछिल्लो समय थारु समुदायमा थारु कला संस्कृति लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे । उनले परम्परागत संस्कृति झल्किने वस्तु निर्माण भएको संग्रहालयबाट जोगाउन मद्दत पुग्ने बताउँदै थारु संस्कृति जोगाउन वर्तमान पुस्ताको जिम्मेवारी रहेको उनले जनाए ।
महोत्सवको पहिलाे दिन राष्ट्रिय कलाकार श्रीनिवास चाैधरी लगायत कलाकारहरुकाे प्रस्तुति रहेकाे थियाे । मंगलबार दाेस्राे दिन करिब १० हजार दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ । थारु कल्याणकारीणीसभा शिवराज नगर समिति तथा थारु संग्रहालय संरक्षण समितिको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवमा कलाकार सोनु कुस्मी, राम कुमार कठरिया, रञ्जित थारु लगायत कलाकारहरुको बेजोड प्रस्तुती समेत रहेको सांस्कृतिक संयोजक अक्षय थारुले जानकारी दिए ।
बुधबार राष्ट्रिय कलाकार अञ्जु कुस्मी, खेम चौधरी तथा स्थानीय कलाकार उत्तम चौधरी, विष्णु चौधरी लगायत कलाकारहरूको थारु संस्कृति झल्कने पोशाकमा रेकार्ड नृत्यसँगै संस्कृतिक प्रस्तुति प्रस्तुत रहने छन् भने विभिन्न थारु परिकारका स्टल सहित अन्य व्यवसायिक स्टल समेत रहेका छन् ।