घनश्याम भर
कपिलवस्तु, ८ पाैष ।
कपिलवस्तुकाे शिवराज नगरपालिकामा शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । “प्रविधिमैत्री गुणस्तरीय नि:शुल्क शिक्षा आजकाे आवश्यकता” भन्ने मूल नाराका साथ वडा नम्बर १ मा अवस्थित सरस्वती आधारभूत विद्यालय शिवपुरमा अन्तर विद्यालय स्तरीय शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम सम्पन्न गरिएको आयाेजकले जनाएको छ । सरस्वती आधारभूत विद्यालयकाे आयोजना तथा शिवराज नगरपालिका-१, नम्बर वडा कार्यालयको समन्वय र स्ट्रोम फाउण्डेशन, किर्डाक नेपालकाे प्राविधिक सहयाेगमा बालबालिकाहरुका अन्तरनिहित सीप, क्षमता र प्रतिभा उजागर गर्न अन्तर विद्यालय स्तरीय शैक्षिक सामग्री प्रदर्शनी मेला गरिएको आयाेजक विद्यालयका प्रधानाध्यापक सिताराम चाैधरीले जानकारी दिए ।
विद्यालयको शैक्षिक गुणस्तरमा सुधार र विद्यालय सिकाई आदानप्रदानमा थप टेवा पुर्याउने उद्देश्यले विद्यालय-विद्यालयबीच शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रमकाे आयाेजना गरिएको प्रअ चाैधरीले बताए । शैक्षिक सामग्री प्रर्दशनीतर्फ सरस्वती आधारभूत विद्यालय शिवपुर प्रथम भएको छ । त्यस्तै सिद्धार्थ आधारभूत विद्यालय दोस्रो, जनता आधारभूत विद्यालय मदरहवा तेस्रो र आधारभूत विद्यालय मदवा सान्त्वना स्थान हासिल गरेका छन् । यस्तै शैक्षिक सामग्री प्रदर्शनीकाे साथै हस्त लेखन र पढाइ प्रतियोगिता समेेत सम्पन्न भएकाे छ । आयाेजकका अनुसार यस शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रममा शिवराज नगरपाालिकाका १० विद्यालयले सहभागिता जनाएका थिए ।
विद्यार्थीहरुले आफ्ना सीप, क्षमता प्रयोग गरि पानी स्टिमर, ताेप, जेसीबी, मेरिस्काेप, साैर्य मण्डल, रकेट, ढकिया, माटाेका भाँडाकुँडा लगायतका विविध हस्त निर्मित शैक्षिक सामग्री प्रदर्शन गरिएका थिए । कार्यक्रममा लुम्बिनी प्रदेश सांसद अर्जुन कुमार केसीले शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रमले विद्यार्थीकाे सीप र क्षमतालाई अभिवृद्धि गर्ने अवसर प्रदान गरेकाे बताएका छन् । उनले विद्यार्थहरुले प्रदर्शन गरेका शैक्षिक सामग्रीले विद्यार्थीकाे अन्तरनिहित क्षमतालाई प्रष्ट रुपमा देखाएकाे बताउँदै लामाे समयपछि निरन्तर प्रयासले प्रविधि युगकाे अविष्कार भएको बताए । सबै व्यक्तिमा फरक-फरक क्षमता भएकाे हुँदा असम्भव केही नभएको जाेड दिँदै अविष्कारका कुरामा लाग्न आवश्यक रहेकाे सांसद केसीकाे भनाई छ । यस्तै शिवराज नगर प्रमुख अजय थापाले शैक्षिक सुधारमा नगरले जाेड दिएकाे बताए ।
उनले नि:शुल्क शिक्षाकाे साथै शैक्षिक गुणस्तरीयतालाई नगरले जाेड दिँदै अगाडी बढिरहेकाे बताए । यसैगरी नगर उप-प्रमुख शिव कुमारी थारुले विद्यालयकाे गुणस्तरीयतामा शैक्षिक सामग्रीले सुधार ल्याउने बताइन् । उनले विद्यार्थीकाे सीप, क्षमता र प्रतिभालाई प्रदर्शन गरेर नयाँ कुराकाे सुरुवात भएकाे बताउँदै नगरले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाइन् । यस्तै सरस्वती आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगत बहादुर जिसीले शैक्षिक सामग्रीले शैक्षिक सुधारमा अहम भूमिका निर्वाह गर्ने बताए । उनले विद्यार्थीले दैनिक जीवनमा प्रयाेग गरेर र देखेर सिक्ने शिक्षा आवश्यक रहेकाे बताए । कार्यक्रममा वडा अध्यक्ष खिम विक्रम केसी, शिक्षा विकास तथा समन्वय इकाई पश्चिम नवलपरासीका प्रमुख पूर्ण बहादुर विश्वकर्मा, किर्डाक नेपालका जिल्ला संयाेजक कृष्ण रावल लगायतले सम्बाेधन गरेका थिए ।