कपुरअं,डेक्स।
शिवराज नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत सञ्चालन गरिएको उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गत ४५ जना विद्यार्थी छनोट गरेको छ।

नगरपालिकाका अनुसार निर्धारित मापदण्ड तथा छनोट प्रक्रियाका आधारमा आर्थिक रूपमा विपन्न, जेहेन्दार र अध्ययनमा उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न छनोट गरिएको हो। यस कार्यक्रमको उद्देश्य आर्थिक अभावका कारण उच्च शिक्षाबाट वञ्चित हुन सक्ने विद्यार्थीहरूलाई अध्ययनलाई निरन्तरता दिन सहयोग पुर्‍याउनु रहेको नगरपालिकाले जनाएको छ।

नगर प्रमुख अजय थापाले शिक्षा क्षेत्रमा गरिएको लगानीले दक्ष, सक्षम र प्रतिस्पर्धी जनशक्ति उत्पादनमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो। उहाँले उच्च शिक्षा छात्रवृत्ति कार्यक्रमले प्रतिभावान तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न थप प्रेरणा र सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि विद्यार्थीमैत्री तथा शिक्षामुखी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। छात्रवृत्तिका लागि छनोट भएका ४५ जना विद्यार्थीहरूको नामावली नगरपालिकाले सार्वजनिक गरिसकेको छ।