घनश्याम भर
विजयनगर, ४ मंसिर ।
नेपाल–भारत सीमा स्तम्भ (दशगजा) क्षेत्रमा सरसरफाई तथा सिमा स्तम्भको निरीक्षण गरिएको छ । कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नम्बर ५ सँग जोडिएको नेपाल–भारत सिमा क्षेत्रमा सरोकारवालासहितको एक टोलीले संयुक्त रुपमा सरसफाई तथा सिमा स्तम्भको निरीक्षण गरेको हो ।
नेपाल सशस्त्र प्रहरी बल (बिओपी) डालपुरका सशस्त्र प्रहरी निरीक्षक भोला श्रेष्ठले सिमा स्तम्भ क्षेत्रमा सरसफाई र सिमा स्तम्भको अवस्थाको बारेमा भारतीय संकक्षीसहितको टोलीले सरसफाई तथा सिमा स्तम्भको निरीक्षण गरिएको जानकारी दिनुभयाे । उनले नेपाल–भारत सिमा क्षेत्रको ठाकुरापुर–गिद्धहवा क्षेत्रमा अवस्थित ५७८÷६ नम्बर सिमा स्तम्भ (दशगजा) क्षेत्रमा सरसफाईसहित सिमा स्तम्भहरुको निरीक्षण गरिएको बताउनुभयाे । उहाँले हराएका र भत्किएका सिमा स्तम्भहरुको निर्माण र मर्मतसम्भारको लागि सम्बन्धित निकायमा पहल भइरहेको बताउनुभयाे ।
सोमबार नेपाल सशस्त्र प्रहरी बल (बिओपी) डालपुरका सशस्त्र प्रहरी निरीक्षक भोला श्रेष्ठ, भारतीय एसएसबीका असई प्रकाश मण्डल, अस्थायी प्रहरी पोष्ट ठाकुरापुरका असई धन बहादुर अधिकारी, प्रहरी, सिमा सहजीकरण समितिका पदाधिकारी लगायत सरोकारवालाहरुको संयुक्त टोलीले सिमा स्तम्भ क्षेत्रमा सरसफाई र सिमा स्तम्भको निरीक्षण गरेको हो ।
प्रहरी निरीक्षक श्रेष्ठका अनुसार नेपाल–भारत सीमा क्षेत्रका धेरैजसो सीमा स्तम्भ वरिपरि फैलिएको झाँडी समेत सरसफाई गरिनेछ । तराईका जिल्लामा आउने बाढीका कारण सिमा स्तम्भहरु भत्किने र हराउने गरेका छन् । कतिपय सिमा स्तम्भहरु नदीकै धारमै परेका कारण भत्किने र हराउने गरेका छन् ।
स्थानीयबासीका अनुसार सिमावर्ती तराईका जिल्लाहरुमा हरेक वर्ष बाढीका कारण सिमा स्तम्भहरु थप जोखिममा पर्ने गरेका छन् । वर्षेनी नदीमा आएको बाढीका कारण नेपालतर्फ कटान गर्दै आएको छ । वर्षायाममा नदीको बहाव परिवर्तन भएसँगै सिमानाहरु परिवर्तन हुने समस्या छ । नेपाल–भारत सिमाना विजयनगर गाउँपालिकासँग २८ किलोमिटर जोडिएको छ ।