नगर प्रमुख थापाले भने- म विश्व शान्तिका दूत गौतम बुद्धको धर्तीबाट आएको हुँ
कपुरी,डेक्स।
कपिलवस्तु । जलवायु परिवर्तन, सुख्खा तथा खडेरीका विषयमा छलफल गर्न आयोजित महत्वपूर्ण अन्तर्राष्ट्रिय कार्यक्रममा शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले नेपालको पहिचान र गौतम बुद्धको जन्मभूमिको सन्देश अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले आफू विश्व शान्तिका दूत गौतम बुद्धको धर्तीबाट आएको उल्लेख गर्दै नेपाल शान्ति, सहिष्णुता र मानवताको सन्देश दिने देश भएको बताएका छन्। चीन, श्रीलंका लगायत विभिन्न मुलुकबाट सहभागी नगर प्रमुख तथा प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले ‘गौतम बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने विषयलाई विशेष रूपमा प्रस्तुत गरेका थिए।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै नगर प्रमुख थापाले बुद्धको जन्मभूमि नेपालको पहिचान विश्वसामु प्रस्तुत गर्नुका साथै जलवायु परिवर्तनले विश्वका विभिन्न मुलुकमा पारेको प्रभाव र त्यसबाट उत्पन्न सुख्खा तथा खडेरीका चुनौतीबारे समेत धारणा राखेका थिए।
नेपालका विभिन्न नगरपालिकामध्ये शिवराज नगरपालिका, चन्द्रौटा, कपिलवस्तुलाई अन्तर्राष्ट्रिय कार्यक्रममा आमन्त्रण गरिएकोमा नगर प्रमुख थापाले अन्तर्राष्ट्रिय MayorS Forum प्रति हार्दिक आभार व्यक्त गरेका छन्।
कार्यक्रमका क्रममा थापाले मंगोलियाको उलानबटार शहरका नगर प्रमुखसँग भेटघाट गर्दै स्थानीय संस्कृति, मौलिक परम्परा तथा रीतिरिवाजबारे जानकारी आदान–प्रदान गरेका थिए।
उलानबटारका नगर प्रमुखले गरेको न्यानो आतिथ्यता तथा स्वागतप्रति समेत उनले धन्यवाद व्यक्त गरेका छन्।
नगर प्रमुख थापाले जलवायु परिवर्तन, सुख्खा तथा खडेरी विश्वव्यापी चुनौती भएकाले यसको समाधानका लागि विभिन्न देश तथा स्थानीय तहबीच अनुभव आदान–प्रदान, सहकार्य र साझा प्रयास आवश्यक रहेको बताएका छन्।
शिवराज नगरपालिकाको अन्तर्राष्ट्रिय सहभागिताले जलवायु परिवर्तनका क्षेत्रमा विश्वका विभिन्न स्थानीय तहका अनुभव बुझ्ने तथा नेपालको मौलिक पहिचान र बुद्धभूमिको सन्देश अन्तर्राष्ट्रिय समुदायमाझ पुर्याउने अवसरसमेत प्राप्त भएको जनाइएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















