काठमाण्डाै, ३ मंसिर । सशस्त्र प्रहरी बलले रौतहटबाट चार थान आधुनिक हतियार बरामद गरेको छ । इन्टेलिजेन्स ब्युरोले रौतहट यमुनामाई नगरपालिका–३ काे एक घरबाट आज आइतवार ९ एमएम पेस्तोल तीन नाल, त्यसमा प्रयोग हुने १३ थान गोली, छ थान म्याग्जिन र एक थान एअर गन बरामद गरेको हो ।

हतियार लुकाएर राखिएको भन्ने सूचनाका आधारमा ब्युरोले एक घरमा खानतलासी गरेको थियो । बरामद हतियारमध्ये दुई नाल पेस्तोल ‘मेड इन यूएसए’ र एक थान ‘मेड इन इन्डिया’ लेखिएको प्रहरीको भनाइ छ ।

हतियारसहित मोबाइलको सिम कार्ड, मोबाइल, शेख एजाज अहमदको नाममा जारी नागरिकतासमेत बरामद भएको छ । त्यस क्षेत्रमा थप ‘अपरेशन’ जारी रहेको प्रहरीको भनाइ छ । हतियार बरामदपछि स्थानीयले ढुङ्गामुढा गर्दा प्रस्तावित सीमा सुरक्षा गुल्म गौर र सुरक्षा बेस देबाहिको गाडीको सिसा फुटेको छ ।