घनश्याम भर
(विजयनगर) कपिलवस्तु, १ मंसिर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नम्बर ७ मा शैक्षिक गुणस्तर बढाउन बृहत छलफल गरिएको छ । शिक्षाको समस्यालाई पहिचान गरी कसरी शिक्षाको गुणस्तर बढाउन सकिन्छ ? भन्ने बारेमा आगामी दिनमा अभियान सञ्चालन गर्ने लौटन राम द्रोपदी देवी माध्यमिक विद्यालय गणेशपुरका अध्यक्ष दिनेश कुमार चौधरीले जानकारी दिए । सोही वडाका वडा अध्यक्ष समेत रहेका चौधरीले गुणस्तरीय शिक्षाको लागि गणेशपुरमा अवस्थित लौटन राम द्रोपदी देवी माविमा स्वर्ण जयन्तीको अवसरमा महायज्ञ लगाउने तयारी गरिएको बताए ।
विद्यालयका प्रधानाध्यापक श्याम प्रकाश चौधरीले गुणस्तरीय शिक्षाको लागि शुक्रबार सरोकारवालाहरुबाट सल्लाह सुभावहरु संकलन गरिएको बताए । उनले शिक्षालाई अझै प्रभावकारी रुपमा सञ्चालन गर्न र शिक्षाको गुणस्तर बढाउन विद्यालयमा महायज्ञ लगाउने तयारीको लागि सरोकारवालासँग बृहत छलफल कार्यक्रमको आयोजना गरिएको बताए ।
कार्यक्रममा बोल्दै विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर कायम राख्नको स्थानीय सरकार निरन्तर लागिरहेकोे बताएका छन् । उनले यस वर्ष सामाजिक विकासमा गाउँपालिकाले सबैभन्दा बढी बजेट विनियोजन गरेको बताउँदै शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडी बढिरहेको बताए । उनले गाउँपालिकामा उपलब्ध स्रोत साधनले सम्पूर्ण विद्यालयहरुमा शैक्षिक स्तरोन्नति र व्यवस्थापनमा जोड दिएको बताए । स्थानीय सरकारले सार्वजनिक निकायबाट बजेटको माग र सरोकाकारवालासँग समन्वय र सहकार्य गरि पहल गरिहेको अध्यक्ष थापाको भनाई छ ।
यसैगरी सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख राम करण पालले शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिएका छन् । शिक्षामा लगानी गरे मात्र समाजमा परिवर्तन र विकास हुने उनले बताए । गुणस्तरीय शिक्षाका लागि शिक्षक जिम्मेवार हुनुपर्ने बताउँदै शिक्षक इमान्दर, कर्मनिष्ठ, लगानशील हुन आवश्यक रहेको उनले जिकिर गरे । शैक्षिक गतिविधिको समयानुसार सञ्चालन गर्ने, नियमित अनुगमन तथा सुपरीवेक्षण गर्न सके मात्र शैक्षिक गुणस्तर सुधार गर्न सकिने बताए । शिक्षकको एकल प्रयासले गुणस्तर सुधारमा सार्थक बन्न नसक्ने बताउँदै सबैको साझा प्रयास जरुरी रहेको उनको भनाई छ ।
यस्तै गाउँपालिका शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले शिक्षाको प्रभावकारिता, समस्या, चूनौतीलाई पहिचान गरि सुधारका योजना बनाउन आवश्यक रहेको बताए । उनले शिक्षकले आफ्नो जिम्मेवारी पूर्णरुपमा निर्वाह गर्नुपर्नेमा जोड दिए । अभिभावकहरुले पनि आफ्नो बालबच्चाको भविष्य बनाउनका लागि विद्यार्थीलाई समय दिनुपर्ने बताउँदै अभिभावकले विद्यालय प्रति चाँसो देखाउन बेल्बासेले आग्रहसमेत गरे ।
वडा अध्यक्ष दिनेश चौधरीले शैक्षिक गुणस्तरलाई मध्यनजर गर्दै वडाभित्र नमुना कामसमेत गर्दै आएको बताए । शिक्षकको जिम्मेवारी बाँडफाँड, राम्रो काम गर्ने शिक्षकलाई सम्मान तथा नियम विपरीत रहेका शिक्षकको ग्रेडबृद्धि रोक्का, विद्यालयमा अक्षयको कोषको स्थापना र ब्याजबाट शिक्षकको व्यवस्थापन, प्रत्येक टोलमा ट्युशन (क्याच अप) कक्षालाई निरन्तरता दिने, पास हुने विद्यालर्थीलाई मात्र मथिल्लो कक्षामा लैजाने, भर्नाका बेला प्रवेश परिक्षा लिइने, ३÷३ महिनामा नतिजा प्रस्तुत गर्ने, कक्षा ११ र १२ का विद्यार्थीबाट शिक्षण अध्यापन गराउने र विद्यार्थी–अभिभावक कार्ड लागु गर्ने लगायतका विभिन्न योजनाहरु रहेको अध्यक्ष चौधरीले जनाए ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले शिक्षकले पनि शिक्षणलाई जागिरको रुपमा भन्दा पनि जिम्मेवारीको रुपमा बोध गर्नुपर्नेमा जोड दिएका छन् । सबै बालबालिकालाई आफ्नै छोराछोरी समान सिकाइ गर्न सके गुणस्तरीय शिक्षाको मूल मर्म व्यवहारिक सुधारलाई आत्मसात गर्दै सबल पक्षलाई दृढताका साथ कार्यान्वयन गरे मात्र विद्यालयको शैक्षिक गुणस्तर सुधार सम्भव हुने कुरामा जोड दिएका छन् ।
कार्यक्रम ७ नम्बर वडा कार्यालयको आयोजनामा गाउँपालिकाका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, राजनैतिक दलका प्रतिनिधि, अभिभावक, जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी र सरोकारवालाहरुसँग बृहत छलफल गरिएको वडा अध्यक्ष दिनेश चौधरीले जानकारी दिए ।