कञ्चनपुर, २८ कार्तिक । कञ्चनपुर प्रहरीले जुवा खेल्ने ४२ जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरेको हो ।
सोमवार राति २ बजे विशेष सुराकीका आधारमा प्रहरीले भीमदत्त नगरपालिका–१७ बाँसखेडामा रहेकाे भीमबहादुर ठगुन्नाको घरमा जुवा तास खेलिरहेका २८ जनालाई नगदसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक कमल थापाले आजसम्ममा जुवा खेल्ने ४२ जनालाई पक्राउ गरी तीन लाख पाँच हजार रुपैयाँभन्दा बढी रकम बरामद गरेको जानकारी दिनुभयो ।
बाँसखेडाबाट २८ जनासहित जुवा खालबाट दुई लाख ५८ हजार रुपैयाँ बरामद भएकाे छ । त्यसैगरी भीमदत्त नगरपालिका–१६ मझगाउँबाट २५ हजार रुपैयाँ, तास र छ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो । यस्तै बेलौरीबाट २२ हजार रुपैयाँसहित आठ जना पक्राउ परेका छन् ।
‘हामीले चाडपर्वका बेला जुवा तास खेल्ने गिरोहलाई सुक्ष्मरूपमा नियालिरहेका छौँ’, प्रहरी उपरीक्षक थापाले भन्नुभयो, ‘पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत कारबाही गर्छाैँ ।’ चाडपर्व सुरक्षित बनाउन जिल्लाभर थप प्रहरी परिचालन गर्नुका साथै विशेष सुरक्षा योजनासमेत लागू गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।