काठमाण्डाै, २५ कार्तिक । जाजरकोटको बारेकोट रामीडाँडा केन्द्रबिन्दु भएर गएकाे ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पले जाजरकाेट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भयाे।
भूकम्पबाट दुई जिल्लामा गरी १ सय ५४ जनाकाे ज्यान गयाे । जाजरकोट, रुकुमपश्चिमसहित १३ वटा जिल्लामा २६ हजार ५ सय ५७ घरमा पूर्ण र ३५ हजार ४ सय ५५ घरमा आंशिकरुपमा क्षति पुग्याे ।
२०७२ सालमा गएको महाभूकम्पबाट क्षति पुगेका संरचना, सांस्कृतिक र ऐतिहासिक धरोहरकाे पुनर्निर्माणकाे काम सम्पन्न नहुँदै नेपालमा फेरि भूकम्पले ठूलाे क्षति पुर्याएकाे छ ।
सरकारले आवश्यक चासो र चिन्ता नदेखाउँदा यी संरचनाहरु भग्नावशेषका रुपमा मेटिँदै गएका छन् । काठमाण्डाैकाे वसन्तपुर क्षेत्रका कतिपय निजी भवन, सांस्कृतिक सम्पदाहरुकाे पुनःनिर्माण शुरु समेत भएकाे छैन ।
२०७२ सालको महाभूकम्पको भग्नावशेषहरु काठमाण्डाै उपत्यका वरपर यत्रतत्र फेला पर्छन् । २०७२ सालको भूकम्पबाट बटुलेका अनुभवलाई ८ वर्षसम्म व्यवहारमा नउतार्दा अहिले पश्चिम नेपालमा ठूलो क्षति भएको छ । अझै पनि विज्ञहरुले पश्चिम नेपालमा ठूलो भूकम्पको जोखिम रहेको चेतावनी दिइरहेका छन् । अब बेलैमा पुनःनिर्माण नगर्ने र पूर्वतयारीकासाथ नबस्ने हो भने भविष्यमा पुनः अहिलेको क्षति दोहोरिने निश्चितप्रायः छ ।
आजको फोटो फिचरमा पुनर्निर्माणकाे पर्खाइमा रहेका भूकम्पबाट क्षतिग्रस्त संरुचनाहरु ।