काठमाण्डाै, २१ कार्तिक । नेकपा (एमाले) ले भूकम्प पीडितलाई एक कराेड रुपैयाँ बराबरकाे राहत सामग्री वितरणको तयारी गरेको छ । पार्टीको सामाजिक सेवा केन्द्रले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि राहत सामग्री पठाउने तयारी गरेको छ ।

केन्द्रका प्रमुख एवम् पार्टीका केन्द्रीय सदस्य मोतिलाल दुगडका अनुसार अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा भूकम्प पीडितलाई सहयाेग गर्नका केन्द्र अग्रसर भएको हो । केन्द्रले भूकम्प पीडितका लागि चामल, दाल, चाउचाउ, बिस्कुट, नुनजस्ता खाद्य सामग्री उपलब्ध गराउने छ । यसैगरी पीडितलाई जाडोबाट बचाउनका लागि कम्मल र टेन्ट पनि वितरण गर्न लागिएको दुगडले जानकारी दिनुभयो ।

दुगडका अनुसार राहतका लागि पठाइने सामग्रीमध्ये केही काठमाण्डाैमा खरिद गरिएको छ भने केही सामग्री नेपालगञ्ज, दाङलगायतका ठाउँमा खरिद गरिएको छ ।

पहिलो चरणको राहत सामग्री भोलि बुधवारसम्म पीडितसमक्ष पुर्‍याउने तयारी भएको छ । दोस्रो चरणमा थप राहत सामग्री उपलब्ध गराइने दुगडले जानकारी दिनुभयो । फाइल तस्बिर