पश्चिम नेपालका धेरै ठाउँमा आज सराय नाच नाचियो
काठमाण्डाै – पश्चिम नेपालका अर्घाखाँची, गुल्मी, प्युठान, पाल्पा, स्याङ्जा, कपिलवस्तु, दाङ, रुपन्देही लगायतका जिल्लामा आज सराय नाच नाचिएकाे छ । यी जिल्लामा दशैँका बेला पूर्णिमासम्म सराय नाच नाच्ने गरिन्छ । यी जिल्लामा दशैँको टीकाको भोलिपल्ट एकादशीदेखि पूर्णिमासम्म कोतघर, दुर्गाभगवतीका शक्तिपीठमा पञ्चेबाजा गुन्जिन्छन् ।
दशैँ मनाउन घर फर्किएकाहरू सराय नाच्छन् र मन्दिरबाट निकालिने देवीका आलाममा फूलपाती, अक्षता र भेटी चढाएर दर्शन गर्ने गर्छन् । आज शनिवार अर्घाखाँचीको खाँचीकोट र ठाडाको कालिका भगवती मन्दिर, गुल्मीको धुर्कोट लगायतमा सराय नाच भएको छ ।
अर्घाखाँचीको अर्घादरबारमा यस क्षेत्रकै ऐतिहासिक सराय जात्रा नै लाग्छ । अर्घाभगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालका अनुसार सराय नाचको छुट्टै महत्त्व र इतिहास रहेको छ । देवीले महिषासुरको वध गरेपछि त्यसलाई विजय प्रतीक मानेर देवीको गुणगान गाउँदै सराय नाच नाच्न थालिएको हो । बाइसे/चौबिसे राजा बस्ने दरबार र कोतघरमा सराय नाचेर पूर्णिमाको दिन दशैँ बिदा गर्ने यस क्षेत्रको चलन रहेको छ ।
हतियार नचाएर नाचिने सराय नाचप्रति युवाको आकर्षण बढ्दो रहेको शितगंगा नगरपालिकाले जनाएको छ । केही ठाउँमा भने याे नाच घटिरहेकाे भन्दै पाका पुस्ताले चिन्ता व्यक्त गरेका छन् । तस्बिर : प्रेमनारायण आचार्य
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















