दैलेख – भारतको सिम्लाबाट दशैँ मान्न हिँडेका युवा यात्राको क्रममा हराएको दुई हप्तापछि घर पुगेका छन् । भगवतीमाई गाउँपालिका–४ मनघरका ४१ वर्षीय धनबहादुर थापा बाटोमै लुटिएपछि बाटो खर्च कमाएर सोमवार परिवारको सम्पर्कमा पुग्नुभएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ इत्राममा बस्ने भाउजु कृष्णाले सोमवार दिउँसो ४ बजेतिर देवर धनबहादुरलाई आफ्नो दैलोमा देखेपछि उहाँलाई देवर नै हो कि होइन भनेर पनि ठम्याउनै गाह्रो भयो । ‘खबरै नगरी एकैपटक दैलोमा देखेपछि अक्क न बक्क भएँ’ कृष्णाले भन्नुभयो ।

असोज २३ गते सिम्लाबाट हिँडेकै दिन चण्डीगढ बसपार्कमा पुगेपछि त्यहाँका गुण्डाहरुले नाम थाहा नभएका दुल्लू क्षेत्रका दुई जना र आफूसँग भएको सम्पूर्ण नगद, कपडा, झोलासमेत लुटेर एक–अर्कोलाई ४–५ मिनेट अन्तरमा छोडेको कारण लुटिएका अरु साथीहरुसँग भेट हुन पाएन धनबहादुरले उज्यालोलाई बताउनुभयो ।

कमाएको रकम बैँकबाट पठाएको कारण आफूसँग भएको पाँच हजार भारु नगद लुटेको तर दुल्लूका साथीहरुबाट भने झण्डै लाख रुपैयाँ भन्दा बढी लुटिएको उहाँले बताउनुभयो । लुटिएको दुई दिन काम समेत नपाएर भोकै बसेको र तेस्रो दिनदेखि सात दिन भैँसी गोठालो गरेर १८ सय भारु कमाएर नेपाल पुगेको धनबहादुरले बताउनुभयो ।

फोन डायरी, कागजपत्र केही नभएकोले खबरै नगरी पारिवारिक सम्पर्कमा पुगेको उहाँले बताउनुभयो । ‘मलाई परिवारको चिन्ता थियो, परिवारजन पनि म हराएको कुराले रोइरहेका होलान् भनेर दशैँका टीका भेटाउने गरी आएँ’ खुशीको आँसु चुहाउँदै उहाँले बताउनुभयो ।

दुई–चार दिनपछि सँगै जाउँला भनेका दाजु रामबहादुर थापासँग जिद्दी गरेर सिम्लाबाट हिँडेको आफू घर नपुग्दा परिवारजन चिन्तामा होलान् भन्ने आफूलाई लागिरहेको धनबहादुरले बताउनुभयो । सिम्लाबाट हिँडेका तर घर नपुगेपछि परिवारजनले १० दिनदेखि हरिद्वारदेखि सिम्लासम्म ठाउँठाउँ खोजी गरेका थिए ।

दाजुको घर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भएकोले सोमवार भाउजु, भतिजा, भतिजीसँग भेटेपछि उहाँ टीका लगाउन बेस्तडा जानुभयो । उहाँको श्रीमती दुई छोरा, एक छोरीसमेत भगवतीमाई गाउँपालिका–४ मनघरबाट मंगलवार दैलेख घरमा पुगेर दशैँको टीका लगाउने योजनाले सुर्खेतबाट बेस्तडाका लागि प्रस्थान गरिसक्नुभएको छ ।