कास्की, ६ कार्तिक । परराष्ट्रमन्त्री एनपी साउदले पोखराको पर्यटन व्यवसाय पहिलेकै अवस्थामा फर्कने बताउनुभएको छ । पोखराको तोरीपानीबाट फेवाताल किनारमा आज साेमवार प्याराग्लाइडिङ गरेपछि उहाँले साहसिक पर्यटनलगायतका धेरै सम्भावना बोकेको पोखराको पर्यटन व्यवसायले आउँदाे दिनमा गति लिने विश्वास व्यक्त गर्नुभयो ।

प्याराग्लाइडिङ पोखराको महत्त्वपूर्ण पर्यटकीय गतिविधि भएको उल्लेख गर्दै मन्त्री साउदले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडानलाई असर नपर्ने गरी सराङकोटबाटै उडान गर्न सम्बन्धित निकायमा आफ्नो तर्फबाट पहल गर्ने बताउनुभयो ।

सुरक्षा व्यवस्थालाई दृष्टिगत गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग सम्पर्क गरी मन्त्री साउद सवार प्याराग्लाइडरलाई फेवाताल किनारामा अवतरण गराइएको हवाई खेलकुद संस्था (ना) का महासचिव खेम आचार्यले जानकारी दिनुभयो । मन्त्री साउद सवार प्याराग्लाइडरको उडान पाइलट महेन्द्रबहादुर भट्टराईले गराउनुभएको थियो । रासस