काठमाण्डाै, ३ कार्तिक । नागढुङ्गा सुरुङमार्गको पूर्वी खण्डको बस्ती नजिक जमिन भासिएको ठाउँका पीडितलाई मासिक घर भाडाको व्यवस्था दिइने भएको छ ।

चन्द्रागिरि नगरपालिका, नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले पीडितलाई तत्काल मासिक घर भाडाको व्यवस्था गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले जमिन भासिएको ठाउँको प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई स्थानान्तरण गर्न मासिक २० हजारदेखि २५ हजार रुपैयाँसम्म घर भाडा व्यवस्थापन गर्न तथा थप घर प्रभावित भएमा त्यहीअनुसार भाडा उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालय तथा अन्य सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ ।

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले तत्काल ११ घर परिवारको विवरण सङ्कलन भएको र उनीहरुलाई तत्काल स्थानान्तरण गरिने जानकारी गराउनुभयो । थप प्रभावित भएमा त्यहीअनुसार व्यवस्थापन गरिने उहाँको भनाइ छ।

चन्द्रागिरि नगरपालिकाका वडा नं १, ३ ५, ७ र १२ का स्थानीय बासिन्दा आयोजनाबाट बढी प्रभावित छन् । राष्ट्रिय गौरवको नागढुङ्गा सिस्नेखोला सुरुङमार्गको मुख्य टनेल ‘ब्रेक थ्रु’ अवस्थामा पुगेको जनाइएको छ । मुख्य सुरुङमार्गको लम्बाइ दुई हजार छ सय ८८ मिटर र आकस्मिक टनेल ‘रेस्क्यु टनेल’ दुई हजार पाँचसय ७५ रहेको छ । तस्बिर : रासस