काठमाडौँ : चाडवाडलाई लक्षित गरी सञ्चालन गरिएका सुपथ मूल्य पसलमा चिनी नपाएको गुनासो उपभोक्ताले गरेका छन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथलीस्थित बिक्री कक्षमा चिनी सकिएको सूचना टाँसिएको छ। थापाथलीमा मात्र नभई खाद्य व्यवस्था कम्पनीद्वारा ४२ जिल्लाका ४८ स्थानमा सञ्चालित सुपथ मूल्य पसलमा चिनी सकिएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसअघि साल्ट ट्रेडिङ कर्पोरेसनबाट थोरै–थोरै परिमाणमा चिनी ल्याएर बिक्री गरिरहेको थियो। साल्ट ट्रेडिङमै मौज्दात न्यून भएपछि चिनी ल्याएर बेच्न नसिकएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपानेले बताइन्। अहिले साल्ट ट्रेडिङका कतिपय सुपथ पसलमा पनि चिनी छैन।

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई चिनी खरिद गर्न गत भदौ २९ गते अनुमति दिएको हो। अहिले कम्पनीमार्फत चिनी खरिदका लागि ४५ दिनको अवधि राखेर अन्तर्राष्ट्रिय बोलपत्र आह्वान प्रक्रिया अघि बढाइएको छ।

सार्वजनिक खरिद ऐनको व्यवस्थाअनुसार बोलपत्र आह्वान, छनोट, स्वीकृति र त्यसपछि चिनी आपूर्तिको प्रक्रिया सुरु गर्दा दसैँ, तिहारलगायत चाडवाडको समयमा चिनी आइपुग्ने अवस्था देखिँदैन।

दसैँ तिहारको समयमा एक महिनामा ३० हजार मेट्रिक टन चिनी खपत हुने गरेको छ। खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलले एक व्यक्तिलाई अधिकतम दुई किलोभन्दा बढी नहुने गरी प्रतिकिलो ९७ का दरले चिनी बिक्री गर्दैआएका थिए।

सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सोमबार खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द र साल्ट ट्रेडिङ कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई चिनी अभाव हुनुको कारणबारे सोधेको थियो।

चिनी खरिदका लागि आह्वान गरेको आन्तरिक टेण्डरमा कुनै पनि कम्पनीको आवेदन नपरेको तथा अहिले अन्तर्राष्ट्रिय टेण्डर प्रक्रियाबाट चिनी खरिदको काम भइरहेकाले केही समय लाग्ने दुवै जनाले लेखा समितिमा जवाफ दिएका थिए।

सरकारले पहिला चिनी खरिदका लागि अनुमति नदिएको र अहिले अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य बढेपछि खरिद गर्न ल्याउन समस्या भएको उनीहरुको भनाइ छ।