हात्तीको आक्रमणबाट एकको मृत्यु, एक घाइते
सर्लाही : जंगली हात्तीको आक्रमणबाट सर्लाहीको हरिपुरस्थित जंगलमा आज एक बालकको ज्यान गएको छ भने एकजना घाइते भएका छन्।
रामेछाप जिल्लालिखु तामाकोशी गाउँपालिका–२ घर भई हाल हरिवन नगरपालिका–७ ताइवान टोल बस्ने १४ वर्षीय शिवप्रसाद दाहालको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ।
हरिवन नगरपालिका–१० बस्ने ५१ वर्षीय छविलाल काफ्लेसँगै दाहाल आज बिहान ८ बजे घाँस काट्न हरिपुर नगरपालिका–१ स्थित चार्ली भन्ने ठाउँमा गएका थिए।
घाँस काट्दा उनको जंगली हात्तीसँग जम्काभेट भएको थियो। भाग्न खोज्दा दाहाललाई हात्तीले लछारपछार पारेपछि उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले जानकारी दिए।
दाहालसँगै जंगल पुगेका काफ्ले गम्भीर घाइते छन्। गोडामा चोट लागेका काफ्लेको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















